Nepali News Portal

लुम्बिनीमा सत्ता गठबन्धनबाट सापकोटा र सुवेदी सहित ७ जनाको उम्मेदवारी

दाङ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट बिष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराएका छन ।  सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादीलगायतका दलका नेता तथा कार्यकर्तासहित घोराही उपमहानगरपालिका–१५ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसकी नेता बिष्णुकुमारी सापकोटा र नेकपा माओवादीका नेता झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए छ ।  गुल्मी जिल्ला निवासी सापकोटाले महिला कोटा र रोल्पा जिल्ला निवासी सुवेदीले अन्यबाट उम्मेदवारी दर्ता गराएका हुन । सापकोटाको प्रस्तावकमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा दङ्गीशरण गाउँपालिका शम्भु गिरी रहेका छन ।   सुवेदीको प्रस्तावकमा  लुम्बिनी प्रदेशसभा सदस्य मिना बुढामगर र समर्थकमा प्रदेशसभा सदस्य दिलकुमारी बुढामगर रहेका छन । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा दुई सिटका लागि निर्वाचन हुन थालेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दुई सिटका लागि हुन गइरहेको चुनावमा सात जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । सत्तारुढ गठबन्धनबाट दुई, नेकपा एमालेबाट दुई, राप्रपाबाट दुई र जनमत पार्टीबाट एक उम्मेदवार मैदानमा उत्रिएका छन् ।
नेकपा माओवादी केन्द्रका सुवेदीले ०६४ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ मा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए । उनी २०७४ सालमा पनि काठमाडौँ क्षेत्र ६ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए ।
कांग्रेसकी सापकोटा भने पार्टीको लुम्बिनी प्रदेश समिति सदस्य हुन् । उनले गुल्मी पार्टी सचिव तथा महिला संघ सभापतिको जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।
उनी ०७४ को स्थानीय तह चुनावमा मुसिकोट नगरपालिकाको उपमेयरमा पराजित भएकी थिइन् ।
यता एमालेबाट दाङ, घोराहीकी तुलसाकुमारी केसी र पाल्पाका झपेन्द्र जीसीले उम्मेदवारी दिएका छन् । केसी एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । उनी अनेमसंघ केन्द्रीय सदस्य पनि हुन् । अर्का उम्मेदवार जीसी पाल्पाको तत्कालीन जिल्ला विकास समिति सभापति हुन् । हाल उनी एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन् ।
यता, राप्रपाले पनि दुवै सिटमा उम्मेदवारी दर्ता गराएको छ । रुपन्देहीका निरञ्जन थापा र कपिलवस्तुकी विजय लक्ष्मी सिंहलाई राप्रपाले राष्ट्रियसभामा उम्मेदवार बनाएको छ ।
भैरहवा निवासी थापा पटकपटक मन्त्री हुनका साथै पूर्व राजदूतसमेत हुन् । थापा राप्रपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष छन् । यस्तै कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–३ निवासी विजया सिंह पार्टीको जिल्ला अध्यक्ष हुन् ।

यस्तै, जनमत पार्टीको तर्फबाट नवलपरासीको सरवाल गाउँपालिका–५ निवासी बाल गोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनी जनमत पार्टीमा सुरुदेखि लागेका नेता हुन् । उनी हाल पार्टीको केन्द्रीय कार्यकारी सदस्य छन् ।
जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले सत्ता गठबन्धनभित्र रहे पनि आफ्नो पार्टीसँग राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिने समयमा समन्वय नगरेको र समावेशी नबनाएको कारण पार्टीले उम्मेदवारी दिएको बताए ।
लुम्बिनीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको कार्यकाल सकिन लागेकाले ती दुई सिटका लागि निर्वाचन हुन लागेको हो ।
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा ८७ प्रदेशसभा सदस्यका साथै पालिकाका २ सय १८ प्रमुख–उपप्रमुख गरी ३ सय ५ जना मतदाता छन् ।
प्रदेशमा कुल मत भार ८७५३ मध्ये सत्ता गठबन्धन दलको ५४३० मतभार देखिएको छ भने एमालेको २८१० मतभार छ ।

You might also like
Leave A Reply

Your email address will not be published.