भोटेकोशी बाढी: दशौँ दिनमा सुरुङबाट २ जना सकुशल उद्धार
काठमाडौं । भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत संरचनामा सम्पर्कविहीन रहेका दुई कर्मचारी सञ्जय साह र कवीर महर्जनको सकुशल उद्धार भएको छ । १० दिनपछि उद्धार गरिएका सञ्जय र कवीर दुवै इन्जिनियर हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दिएको जानकारीअनुसार ३० वर्षीय सञ्जय साह मेकानिकल फोरमेन हुन् । उहाँ माथिल्लो त्रिशूली–३‘ए’ जलविद्युत् आयोजनामा कार्यरत हुनुहुथ्यो । उहाँको स्थायी ठेगाना सप्तरीको कोइलाडी–८ रहेको छ । उद्धार गरिएका अर्का ४५ वर्षीय कवीर महर्जन मेकानिकल सुपरभाइजर हुनुहुन्छ । उहाँ हाइड्रोपावर अटोमेसन प्रोजेक्टमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ । उहाको स्थायी ठेगाना काठमाडौंको बालकुमारी हो ।रसुवाको भोटेकोशी बाढीपछि दुवै जना सम्पर्कविहीन थिए । आयोजनाको भूमिगत संरचनामा कार्यरत ठूलो संख्याका कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका थिए ।
<span;>बाढीका कारण आयोजनाको भूमिगत संरचनाको प्रवेश क्षेत्रमा ठूलो परिमाणमा माटो, लेदो र गेग्रान थुप्रिएपछि उद्धार कार्यमा सकस भइरहको थियो । तर, सेना, प्रहरी र सशस्त्र प्रहरीसँगै अन्य प्राविधिक विज्ञहरू हार मानेका थिएनन् ।
<span;>निरन्तर खोजको प्रयासपछि शुक्रबार बिहान कवीर र सञ्जयलाई उद्धार गर्न सफल भएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । ‘उद्धार टोलीले लामो प्रयासपछि ती अवरोध हटाउँदै भूमिगत संरचनातर्फ पहुँच बनाएको थियो,’ बस्नेतले भन्नुभयो ‘ उद्धारका क्रममा सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएपछि उद्धार अभियानमा नयाँ आशा पलाएको थियो।’
उद्धार टोलीले भित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै सुरुङ भित्र प्रवेश गरिएको थियो ।
सहायक रथी बस्नेतका अनुसार सुरुङभित्र जीवित व्यक्ति रहेको सूचना प्राप्त भएपछि सञ्जय र कवीरलाई सकुशल बाहिर निकालिएको हो । २ जनाको सकुशल उद्धार भएपछि सम्पर्कविहीन रहेका अन्य व्यक्तिको उद्धारमा समेत आशा बढेको छ।