बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति र निर्णयविपरीत कार्य गरेर अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश सांसदलाई कारबाही गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई उक्त पार्टीले कार्बाही गरेको हो । लुम्बिनीका चार सांसदहरूले पार्टीको निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको र सरकारमा सहभागी भएपछि कारबाही गरिएको जनाईएको छ ।
कारबाहीमा परेका सांसदहरूको पद रिक्त गर्न सम्बन्धित प्रदेश सभाहरूमा छिट्टै पत्राचार गरिने जसपा नेपालले जनाएको छ । यस्तै, कोशी प्रदेशकी सांसद निर्मला लिम्बूलाई पनि पार्टी निर्देशन उल्लंघन गरेको भन्दै स्पष्टीकरण साध्ने निर्णय भएको जसपाका नेता मनिष सुमनले जानकारी दिए ।
लोसपाले पार्टीबाट निष्कासन गरेको उहाँहरुको प्रदेश सभा सदस्य पद भने स्वतः जाँदैन। नेपालको संविधानको धारा १८०(ङ) अनुसार, जुन दलको उम्मेदवार भएर प्रदेशसभा सदस्य निर्वाचित भएको हो, त्यही दलले संघीय कानूनबमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा प्रदेशसभा सदस्यको स्थान रिक्त हुन्छ।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ मा दल त्यागसम्बन्धी व्यवस्था छ। दल त्याग प्रमाणित हुने कानुनी अवस्था र प्रक्रिया पूरा हुनुपर्छ। त्यसैले “पार्टीबाट निष्कासन गर्दैमा उहाँहरुको पद जान्छ भन्ने हुँदैन ।