Nepali News Portal

भोटेकोसी बाढीको सन्दर्भमा सरकारले हिरोइजम मात्र देखायो: प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसी बाढीको सन्दर्भमा सरकारले हिरोइजम (नायकत्व) मात्र देखाएको बताउनु भएको छ ।

‎केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा विनाशकारी बाढीको समीक्षा गर्दै प्रचण्डले पीडित नागरिकको खोजी, उद्धार र राहतमा सरकारले इमानदारिता नदेखाएको जिकिर गर्नु भयो ।

‘सरकारले हिरोइजम देखायो । प्रधानमन्त्रीको काम बिहान–बेलुका स्टाटस राख्ने र गृहमन्त्री सुरुङ कोट्याउनमै सीमित देखिए । सञ्चार मन्त्रालयले गर्ने काम प्रधानमन्त्रीले गरिरहनुभएको छ,’ प्रचण्डले भन्नुभयो ‘विपद्को बेला प्रधानमन्त्रीले सबै राजनीतिक दलसँग समन्वय गरेर अगाडि बढ्नुपर्थ्यो । विश्वका नेताहरूलाई अपिल गर्नुपर्थ्यो । त्यस्तो कुनै पहल गरिएको देखिएन । सरकारको गतिविधि बचपनापूर्ण देखियो, यसरी देश चल्दैन । उहाँहरूले नजानेर होइन, राजनीति गर्न खोजिएको देखिन्छ ।’

‎प्रचण्डले भोटेकोसी बाढी आउनुको मुख्य कारण जलवायु परिवर्तन भएकाले यसबारे सरकारले विश्वको ध्यानाकर्षण गराउनुपर्ने सुझाव दिनु भयो  । ‘जलवायु परिवर्तन पुँजीवादी खेमाका देशहरूको राज्यप्रणालीसँग सम्बन्धित छ । जलवायु न्यायका लागि सरकारले गम्भीर रूपमा विश्वको ध्यानाकर्षण गराउनुपर्छ,’ उहाँले भन्नुभयो ।

‎सहसंयोजक माधवकुमार नेपालले जलवायु परिवर्तनका कारण हिमाल विनाश हुन लागेको विषयमा आफू प्रधानमन्त्री हुँदा पहिलोपटक सगरमाथाको कालापत्थरमा क्याबिनेट बैठक राखेर विश्वको ध्यानाकर्षण गराएको स्मरण गर्नु भयो । बैठकमा बोल्ने अन्य सदस्यहरूले समेत जलवायुको मुद्दा प्रचण्ड र माधव प्रधानमन्त्री भएको बेलामा जसरी अन्य सरकारले प्रभावकारी रूपमा उठाउन नसकेकोमा जोड दिनु भएको थियो ।

‎बाढीलगत्तै सबैभन्दा पहिला नेकपाले आकस्मिक बैठक राखेर खोजी, उद्धार र राहतका लागि अपिल गरे पनि पार्टीले गरेको कामको प्रचार गर्न नसकिएको गुनासो नेताहरूले पोखेका थिए । खोजी र उद्धारको काम लगभग अन्तिम चरणमा पुगेकाले अब राहत वितरण, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सबै राजनीतिक दलहरूसँग समन्वय गरेर अगाडि बढ्न बैठकले निर्णय गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.