देउखुरी (दाङ) । लुम्बिनी प्रदेश सभाका सदस्य अम्बिका काफ्ले पदमुक्त हुनु भएको छ । बांके जिल्ला निवासी काफ्ले समानुपातिकबाट जनता समाजवादी पार्टीको प्रतिनिधित्व गर्दे प्रदेश सभामा प्रवेश गर्नु भएको थियो ।
अध्यक्ष उपेन्द्र यादवको नजिकको खास पात्र काफ्ले पार्टीको केन्दीय सदस्य हुनुहुन्छ । पछिल्लो समय लुम्बिनी प्रदेश सरकारलाई समर्थन दिने विषयमा पार्टी भित्रको द्धन्दको शिकार काफ्ले हुनु भएको पार्टी श्रोतको भनाई छ । सरकारलाई समर्थन दिनु भएका संसदीय दलका नेता सन्तोष कुमार पाण्डेय, भण्डारीलाल अहिर, आदेश अग्रवाल र हेमा वेलवासेलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको जनाएको थियो । पार्टीको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र केही पदाधीकारीको जोडबलमा यस्तो निर्णय भएकाले कार्वाही फुकुवा हुनेमा उहांहरु विश्वस्त हुनुुहुन्छ । पार्टीको लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश अध्यक्ष समेत रहनु भएका पाण्डेयको बलियो पकड रहेको छ ।
साविक लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टी नेपाल एकीकरण भएपनि अहिले नेताहरुमा जुंगाको लडाई जारी छ । अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा काफ्लेले लुम्बिनी प्रदेश सरकारलाई समर्थन गर्नु भएको थिएन । पार्टीको आन्तरिक द्धन्दको कारण प्रदेश सभा सदस्य काफ्लेको पद गुमेको हो ।
संसदीय दलको ह्वीप अटेर गरी काफ्लेले पार्टीको हित विपरित कार्य गरेकाले पटक–पटक स्पष्टीकरणको मौका दिएको तर त्यसको बेवास्ता गरी पार्टी र संसदीय दलको निर्णयको विपरित कार्य गरीरहेकाले काफ्लेलाई प्रदेश सभा सदस्य पदबाट निष्काशन गर्ने संसदीय दलले भदौ ८ गते निर्णय गरेको थियो ।
दलका नेता सन्तोष कुमार पाण्डेले राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम प्रदेश सभाका सचिवलाई भदौ ९ गते पत्र लेखी सो सम्वन्धी जानकारी गराउनु भएको थियो ।
उक्त पत्र सभामुख तुलाराम घर्ती मगर समक्ष पेश गरिएपछि प्रदेश सभा बैठक चालु नरहेको अवस्थामा कानुनी व्यवस्थाअनुसार सचिवालयको सूचनापाटीमा सूचना प्रकाशन गर्न निर्देशन दिइएको थियो ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा काफ्लेको दल त्यागसम्बन्धी विवरण सार्वजनिक गरिएको उल्लेख छ । सूचनामा पार्टीले प्रदेश सभा सदस्य पदबाट निष्काशन गरेको जानकारीलाई कानुनी प्रक्रियाअनुसार सचिवालयले प्रकाशन गरेको जनाइएको छ ।
लुम्बिनी प्रदेश सभा सचिवालयले आज दल त्याग सम्बन्धि सुचना जारी गरि यस्तो जानकारी गराएको हो ।
यस्तो छ लुम्बिनी प्रदेश सभाले जारी गरेको दल त्याग सम्बन्धि सूचना
(सम्वत २०८३ साल भाद्र २४ गते बुधबार )
(दुर्लभ कुमार पुन मगर)
प्रदेश सभा सचिव