लुम्बिनी प्रदेशमा गाँजा सम्बन्धि कानुन बनाइदै, औधोगिक प्रयोजनमा प्राथमिकता
गाँजालाई बहुउपयोगी बिरुवा मानिन्छ। यसको विभिन्न भागबाट औद्योगिक, कृषि, औषधीय र अन्य सामग्री बनाउन सकिन्छ।
बुटवल । लुम्बिनी प्रदेशमा गाँजा खेतीलाई नियमन र उपयोग गर्न कानुन बनाईने भएको छ । यस अघि गण्डकी प्रदेशले बनाएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले गाँजा खेतीलाई प्रबर्द्धन र नियमन गर्ने कानुन बनाउन प्रदेश सरकारसंग छलफल भएको बताउनु भयो ।
लुम्बिनी प्रदेशमा यसको आवश्यकता सम्बन्धमा गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धिताल, गाँजासम्बन्धी बिज्ञ तथा यसको औधोगिक प्रयोजन सम्बन्धमा उधमीहरुसंग छलफल गरिएको छ। गण्डकी प्रदेशका सभामुख धितालले बहुउपयोगी गाँजाको औद्योगिक उत्पादनमा जोडन सकेको खण्डमा सरकारलाई फाईदा हुने बताउनु भयो । यस सम्बन्धि संघीय कानुन बनाउदा ऎन कार्यान्वयनमा सहजता आउने उहाँको भनाई छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई उपयोग गर्ने गरि ऎन बनाउन सकिने बताउनु हुँदै मस्यौदा तयार गर्ने सचिवहरुलाई निर्देशन दिनु भयो । उहाँले मदिरा सम्बन्धी र गाँजा खेतीलाई नियमन र उपयोग गर्ने व्यवस्था सम्बन्धि मस्यौदा तयारी भईरहेको अवस्थामा राजनीतिक घटनाक्रमका कारण पछी परेको बताउनु हुँदै गाँजा खेतीलाई नियमन र उपयोग गर्न सम्बन्धि ऎन आवश्यक रहेको बताउनु भयो ।
गाँजालाई बहुउपयोगी बिरुवा मानिन्छ। यसको विभिन्न भागबाट औद्योगिक, कृषि, औषधीय र अन्य सामग्री बनाउन सकिन्छ।
रेसाबाट कपडा, डोरी, झोला, जुत्ता, कागज बनाउन सकिन्छ भने बीउ (दाना) बाट प्रोटिन, स्वस्थ बोसो र अन्य पोषक तत्त्वयुक्त खाद्य पदार्थ तथा तेल बनाउन सकिन्छ
बीउको तेलबाट कस्मेटिक सामग्रीहरु बनाउन सकिने र अन्तर्राष्ट्रिय बजारको सम्भावना बढी रहेको गाँजा सम्बन्धि जानकार बिजय शर्मा बताउनु हुन्छ ।
यसको औषधीय प्रयोग समेत हुन्छ । विश्व स्वास्थ्य संगठन को विशेषज्ञ समितिले गाँजाका पदार्थमा चिकित्सकीय सम्भावना पनि रहेको र स्वास्थ्य जोखिम पनि रहेको निष्कर्ष निकालेको छ। तर काँचो गाँजा सेवन गर्नुलाई उपचारका रूपमा सिफारिस गरेको छैन ।
अध्ययनले CBD (Cannabidiol) विशेषगरी केही गम्भीर र उपचारले नियन्त्रण गर्न गाह्रो हुने बाल्यकालीन मिर्गीमा उपयोगी हुन सक्ने र THC वा cannabinoid औषधि केही अवस्थामा क्यान्सरको केमोथेरापीबाट हुने वाकवाकी/बान्ता कम गर्न प्रयोग गरिन्छ । नेपालमा औषधीय भन्दा पनि औधोगिक प्रयोजनमा गाँजालाई उपयोग गर्न सकेमा आर्थिक बिकासमा टेवा पुग्न सक्ने सम्बन्धित सरोकारवालाहरु बताउनु हुन्छ । बिगत २७ बर्ष देखी भागो (हेम्प)को रेशाबाट उच्च गुणस्तरका कपडा उत्पादन गर्दै यसको प्रबर्द्धनमा लाग्नु भएका डा. गणेश एडिले गाँजामा प्रसस्त सम्भावना रहेको बताउनु भयो । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा यसको खेतीको राम्रो सम्भावना छ । “खेती गर्न कानुनी मान्यता दिने हो भने औद्योगिक प्रयोजनमा राम्रो खपत हुन्छ ।” उहाँले भन्नु भयो । केही हेम्प प्रजाति छिटो बढ्ने भएकाले औद्योगिक बालीका रूपमा उपयोग गर्न सकिने उहाँको भनाई छ । भागो (हेम्प) खेतीको लागी रोल्पा र रुकुम बढी उपयुक्त जिल्ला हुन ।