रोल्पा (लिबाङ) । पूर्वमन्त्री एवं संघीय सांसद वर्षमान पुनमगरले आत्मनिर्भरतातिर देशलाई लगेमात्रै देशको समृद्धि हुने बताउँदै रोल्पा जेलबाङको फलाम खानी उत्खनन्का लागि नेपाल सरकार र अन्य सहयोगी निकायसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यस्तो कुरा पुनमगर जेलबाङ सेवा समाज सुनछहरी ७ जेलबाङ द्वारा निर्माण गरिएको आग्रे (आरण) भवन र आग्री (फलाम खानी) डकुमेन्ट्रीको उद्घाटन गर्दै जेलबाङमा बताउनुभएको हो ।
उहाँले जेलबाङको फलाम खानीलाईलाई पुन सञ्चालनमा लिएर फेरी जेलबाङबासी आम रोल्पा र रोल्पालीको जीवनलाई समृद्ध बनाउने तिर लाग्नुपर्दछ । उहाँले भन्नुभयोः–“हाम्रा पुर्खाहरुले सञ्चालन लिएको फलाम खानीलाई पुन सञ्चालन लिएर हाम्रो रोल्पा र रोल्पालीको जीवनलाई समृद्ध बनाउनु पर्दछ ।”
उहाँले जेलबाङ र रोल्पाले नेपालको आमूल परिवर्तनमा ठूलो योगदान गरेको बताउँदै जेलबाङ र रोल्पालीको बलिदानलाई सधै नेपाल सरकारले समेत कहिल्यै नभूल्ने बताउँदै त्यसका लागि अझै सम्मान गरेको बताउनुभयो । उहाँले आग्रे डकुमेन्टी वास्तविक पुर्खाको जीवनमा आधारित भएकोले गर्दा त्यसलाई अझै विकसित र समृद्धि बनाउनको लागि सुझाव पेश गर्नुभएको थियो । उहाँले फिल्मी भन्दा डकुमेन्टी अझै महत्वपूर्ण भएकाले यसको प्रवद्र्धन र विकासमा सहयोग गर्न सबैलाई अपिल गर्नुभयो ।
कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीमगर, लुम्निी प्रदेश सभा सदस्य जोखबहादुर महरा, लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य, जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियार, सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगर, निवर्तमान अध्यक्ष आशबहादुर पुनमग, प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरे, समाज सेवी तथा राजनीज्ञि चन्द्रबहादुर बुढामगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, लगायत राजनीतिक दल, जनप्रतिनिधी, सरकारी गैर सरकारी सँस्था, पत्रकार, आमा समूह, युवा समूह लगायत जनसमुदायको सहभागीतामा भव्यता पूर्वक सम्पन्न भएको छ ।
आग्रे डकुमेन्टीमा जेलबाङका फलाम खानी सञ्चालनको इतिहास र जनजीवनबारेमा उल्लेख गरिएको छ । आगामी दिनमा पनि यसको उत्खनन्को लागि आवश्यकता रहेको बताइएको छ । यसमा ९० वर्षिय राजबहादुर बुढामगर ७० वर्षिय चन्दबहादुर बुढामगरले पात्रको भूमिका निर्वाह गर्नुभएको छ । करिव ५१ मिनेटको डकुमेन्ट्रीले पुर्खाको जनजीवन झल्काएको छ । कलाकार तथा पात्रहरुलाई सम्मान समेत गरिएको थियो । यो डकुमेन्टीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड समेत पाइसकेको छ । जेलबाङगी सेवा समाजले निर्माण गरिएको आग्रे (फलाम प्रेसोधन) भवनको समेत उद्घाटन गरिएको थियो ।