Nepali News Portal

जथाभावी विषादी प्रयोगप्रति विज्ञहरूद्वारा चिन्ता व्यक्त 

बुटवल । कृषि उत्पादन बढाउन अनावश्यक रुपमा हुने किटनाशक विषादीको प्रयोग प्रति चिन्ता ब्यक्त गरिएको छ । जथाभावी प्रयोग बढ्दो रहेपनि त्यसको नियामक निकाय कमजोर भएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरोकारवालाले चिन्ता गरेका छन् ।
प्रर्याप्त सूचना अभावमा किसानले किटनाशक विषादीलाई औषधिको रुपमा प्रयोग गरेका कारण यसले गम्भीर र घातक रोगहरु निम्त्याउने गरेका भन्दै यस तर्फ सरोकारवाला निकायले विशेष चासो दिनुपर्नेमा जोड पनि दिएको छ । कीरा, रोग र झारपातबाट बाली जोगाउन र छोटो समयमै लाभ दिने भएपनि यसको अस्वभाविक प्रयोगले खतरनाक रोगहरु लाग्न थालेकोले जैविक विषाधिको प्रयोगलाई बढाउनुपर्ने सुझाव विभिन्न क्षेत्रका विज्ञहरुको छ ।
रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १६औ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव—२०८२ को अवसरमा मंगलबार आयोजित नेपालमा कृषि उत्पादन मानव स्वास्थ्य तथा वातावरणमा किटनाशकको प्रभाव विषयक कार्याशाला गोष्ठी सहभागी विभिन्न क्षेत्रका विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।
विज्ञहरुले यस्तो प्रयोगले किटनाशक विषादीको प्रयोगले उत्पादन बढ्नु, बाली सुरक्षित हुनु र किसानको आम्दानी तत्काल सुधारिनु किटनाशकको प्रमुख फाइदा मानिएपनि यसको अनियन्त्रित, असावधानीपूर्ण र अत्यधिक प्रयोगले कृषि उत्पादनसँगै मानव स्वास्थ्य र वातावरणमा गम्भीर र दीर्घकालीन असर पारिरहेको विषयलाई गम्भीरतापूर्वक मूल्यांकन गर्न जरुरी भइसकेको जनाएका हुन् ।
कार्यक्रममा प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवन काठमाडौका वरिष्ठ बाली संरक्षक अधिकृत मनोज पोखरेल, कृषि निर्देशनालयका बाली संरक्षक अधिकृत मिलन गैरे, राष्ट्रिय गहु“बाली अनुसन्धान भैरहवाका वरिष्ठ अधिकृत खेमराज पन्तले यस विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका प्रमुख रुक्मागत पाठक, पैंचो पसल प्रा.लि.का कार्यकारी प्रमुख केशव न्यौपाने, लुम्बिनी कृषि थोक बजार प्रालि.का कार्यकारी प्रमुख रामबहादुर खत्री, पत्रकार दामोदर खनालले टिप्पणी गर्नु भयो। कार्यक्रममा अनुसन्धानकर्ता शारदा पाण्डले परम्परागत किटनाशकसम्बन्धमा अनुसन्धानसहितको धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष एवं रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष तेजकुमार पाठकले विषादीको व्यापार कम गर्न र उपभोक्ताको सचेतना बढाउने काममा साझेदारी गर्न सबैलाई आग्रह गर्नु भयो।
उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, महासचिव सुमन बस्याल,गोष्ठी तथा सेमीनार उपसमिति संयोजक डिल्लीनारायण पाण्डेयले प्रदर्शनीमा कृषि, पर्यटन र प्रविधिलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढेकाले कृषि क्षेत्रका विज्ञहरुलाई समेटेर यसखालको कार्यक्रम गरिएको बताउनु भयो। प्रदर्शनीभित्र करिब ४० प्रतिशत महिला उद्यमी र कृषि उपजका स्टलहरु रहेको संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीले जानकारी दिनु भयो।

You might also like
Leave A Reply

Your email address will not be published.