रास्वपाका बालबालिका पार्टी सदस्य बारेमा आयोगद्वारा स्पष्टीकरण
काठमाडौँ । १८ वर्षभन्दा कम उमेरका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण सोधेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उक्त तथ्याङ्क प्राविधिक त्रुटि मात्र भएको स्पष्ट पारेको छ।
रास्वपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका ३५,२५७ जना व्यक्तिहरू पार्टी सदस्य रहेको तथ्याङ्क समावेश थियो। बालबालिकालाई पार्टी सदस्य बनाउनु प्रचलित कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने भन्दै आयोगले गत सोमबार रास्वपाको केन्द्रीय कार्यालयलाई पत्राचार गरी आधिकारिक धारणा माग गरेको थियो।
आयोगको पत्र र चौतर्फी आलोचनापछि रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले बुधबार एक विज्ञप्ति जारी गर्दै बालबालिकालाई सदस्यता बाँड्ने वा राजनीतिक गतिविधिमा संलग्न गराउने पार्टीको कुनै नीति वा संस्थागत उद्देश्य नरहेको प्रस्ट्याएका छन्।
रास्वपाले संविधान, राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐनले तोकेबमोजिम १८ वर्ष उमेर पूरा भएका नागरिकलाई मात्र पार्टी सदस्य बनाउने कानुनी व्यवस्था र विधिको शासनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याएको छ।
You might also like