भेनेजुएलाम शक्तिशाली भूकम्प , राष्ट्रिय संकट घोषणा
काराकास । भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकासमा भवनहरू भत्किएका छन् र स्थानीय बासिन्दाहरू त्रसित बनेका छन् । यससँगै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा आपत्कालीन अवस्था घोषणा गर्दै काराकासस्थित सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल क्षतिग्रस्त भएकाले बन्द गरिएको जानकारी दिएकी छन् ।
मृतकको संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने अनुमान गरिएको छ । यद्यपि भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको पाँच घण्टाभन्दा बढी समय बितिसक्दा पनि राष्ट्रिय अधिकारीहरूले विपद्को वास्तविक आकारबारे धेरै जानकारी दिएका छैनन् ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा गरेको सम्बोधनमा मृतक वा घाइतेको संख्या उल्लेख गरेकी थिइनन् । राज्य सञ्चालित सञ्चारमाध्यमहरू एजेन्सिया भेनेजोलाना दे नोटिसियास र भेनेजोलाना दे टेलिभिसियोनले पनि भूकम्पको प्रभावबारे सीमित विवरण मात्र सार्वजनिक गरेका छन् ।
भूकम्पीय गतिविधिको निगरानी गर्ने अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) ले मृतकको संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने अनुमान गरेको छ ।
यूएसजीएसले १० हजार वा बढी मृतकको अनुमान कसरी गर्यो ?
लगातार दुई भूकम्पले भेनेजुएलालाई प्रभावित गरेलगत्तै यूएसजीएसले सम्भावित मृतक संख्या १० हजारदेखि १ लाखसम्म हुन सक्ने आकलन सार्वजनिक गरेको थियो ।
क्यालिफोर्निया विश्वविद्यालय, सान डिएगोका भूभौतिकशास्त्री वाशान राइटका अनुसार यो अनुमान ‘पेजर’ –प्रम्ट एसेसमेन्ट अफ ग्लोवल अर्थक्विक रेस्पोन्स) नामक उन्नत मोडेलिङ प्रणालीको प्रयोगबाट गरिएको हो ।
उनका अनुसार, ‘यसले भूकम्पको तीव्रता, गहिराइ, स्थान, जनघनत्व, ऐतिहासिक भूकम्पीय तथ्यांक र भवनहरूको अवस्थासम्बन्धी उपलब्ध जानकारीलाई विश्लेषण गरेर सम्भावित क्षतिको पूर्वानुमान गर्छ ।’
उनले थपे, ‘धेरै अवस्थामा पेजरको अनुमान वास्तविक क्षतिसँग निकै नजिक हुने गर्छ ।’
भूकम्पको घक्का ब्राजिलका केही क्षेत्रमा पनि महसुस
ब्राजिलको विदेश मन्त्रालयले भेनेजुएलाका दुई भूकम्पका धक्का ब्राजिलका केही भागमा पनि महसुस गरिएको पुष्टि गरेको छ ।
एक्समा गरिएको पोस्टमा मन्त्रालयले सरकार परिस्थितिको निगरानी गरिरहेको र हालसम्म भेनेजुएलामा कुनै ब्राजिली नागरिक घाइते भएको जानकारी प्राप्त नभएको जनाएको छ ।
ब्राजिल र भेनेजुएलाबिच २,१०० किलोमिटरभन्दा बढी लामो साझा सीमा रहेको छ ।
पराकम्पको त्रासबिच काराकासका बासिन्दा सडकमा
यी दुई भूकम्पका धक्का यहाँ बोगोटा, बुकारामांगा तथा कोलम्बियाका अन्य केही क्षेत्रमा पनि महसुस गरिएको थियो । स्थानीय समयअनुसार साँझ करिब ६ बजे भूकम्प गएको थियो, जुन समयमा अधिकांश मानिस घरभित्र थिए ।
भेनेजुएलाका गृहमन्त्री डियोस्दादो काबेलोले धेरै भवन भत्किएको पुष्टि गरेका छन् । तर उनले देशभर कति क्षति भयो भन्ने स्पष्ट विवरण दिएका छैनन् ।
भेनेजुएलाको करिब ८० प्रतिशत जनसंख्या भूकम्पीय जोखिमयुक्त क्षेत्रमा बसोबास गर्छ । काराकासको अल्तामिरा क्षेत्रमा भत्किएका धेरै भवन अवसादी माटोमाथि निर्माण गरिएका थिए, जसले तिनलाई भूकम्पीय तरङ्गप्रति अझ संवेदनशील बनाएको छ ।
देशका विभिन्न भागमा अनौपचारिक बस्तीहरू पनि धेरै छन्, जहाँका संरचनाहरू यस्ता शक्तिशाली भूकम्प सहन सक्ने गरी निर्माण गरिएका छैनन् ।
सरकारले निरन्तर पराकम्प आइरहेकाले मानिसहरूलाई भवनभित्र नफर्किन आग्रह गरिरहेको छ । हाल नागरिकहरू सडकमा रहेका छन् र सरकारले देशभर भएको वास्तविक क्षतिको मूल्याङ्कन गरिरहेको छ।
गृहमन्त्रीको आग्रहः ‘अत्यधिक सावधानी अपनाउनुहोस्, भवनहरूबाट टाढा रहनुहोस्’
भेनेजुएलाको एल नासियोनाल पत्रिकाले उद्धृत गरेको वक्तव्यमा डियोस्दादो काबेलोले नागरिकहरूलाई ‘अत्यधिक सावधानी अपनाउन, पूर्ण सतर्क रहन र अहिलेको अवस्थालाई गम्भीरतापूर्वक बुझ्न’ आग्रह गरेका छन् ।
उनले मानिसहरूलाई ठूला रुख, भवन तथा अन्य संरचनाहरूबाट टाढा रहन भनेका छन् । ‘खुला स्थानमा जानुहोस्, शान्तिपूर्वक बाहिर बस्नुहोस् र कुनै पनि समस्या देखिएमा देशभर परिचालित निकायहरूलाई जानकारी दिनुहोस्,’ उनले भने ।
चाकाओ नगरपालिकाका मेयरः १८ जनाको उद्धार
चाकाओ नगरपालिकाका मेयर गुस्ताभो डुकेले स्थानीय अधिकारीहरू भूकम्पपछिको उद्धार तथा राहत कार्यमा जुटिरहेको बताएका छन् ।
उनले हालसम्म १८ जनाको जीवित उद्धार गरिएको र कम्तीमा चारवटा भवन भत्किएको पुष्टि गरेका छन् ।
डुकेका अनुसार ५०० भन्दा बढी खोज तथा उद्धारकर्मी जीवित व्यक्तिहरूको खोजीमा सक्रिय रूपमा परिचालित छन् ।
इक्वेडरले तत्काल मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता
राष्ट्रपति डानियल नोबोआले इक्वेडरले काराकासतर्फ मानवीय सहायता तीव्र रूपमा पठाइरहेको घोषणा गरेका छन् ।
उनले एक्समा लेखेका छन्, ‘यो आपत्कालीन अवस्थालाई सम्बोधन गर्न तत्काल मानवीय सहायता पठाउने व्यवस्था गरिसकेको छु ।’
उनले थपे, ‘विशाल मतभेदहरू भए पनि मानवता सधैं नेतृत्वको मार्गदर्शक हुनुपर्छ, त्यसैले इक्वेडरले यो क्षणले मागेअनुसारको तीव्रता र प्रतिबद्धतासहित प्रतिक्रिया दिनेछ ।’
पनामाका राष्ट्रपतिद्वारा भेनेजुएलाप्रति ऐक्यबद्धता र सहयोगको प्रस्ताव
पनामाका राष्ट्रपति होसे राउल मुलिनो भेनेजुएलाको संकटप्रति प्रतिक्रिया जनाउने पछिल्ला विदेशी नेता बनेका छन् । सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा मुलिनोले भेनेजुएलाप्रति पनामाको ‘गहिरो ऐक्यबद्धता र साथ’ रहेको व्यक्त गर्दै मानवीय सहायता पठाउन तयार रहेको बताएका छन् ।
अमेरिकाले खोज तथा उद्धार टोली र मानवीय सहायता भेनेजुएला पठाउने
अमेरिकी वैदेशिक सहायता विभागका उपसचिव जेरेमी लेविनले भेनेजुएलाका लागि अमेरिकी आपत्कालीन सहयोगबारे थप जानकारी दिएका छन् । उनले अत्यावश्यक सहायता पुर्याउन र समन्वय गर्न विशेष विपद् सहायता टोली तथा कार्यदल परिचालन गरिसकिएको बताएका छन् ।
एक्समा गरिएको पोस्टमा लेविनले अमेरिकाले ‘खोज तथा उद्धार टोली, चिकित्सकीय तथा मानवीय सामग्री र अन्य स्रोतसाधनहरू’ विपद्पछिका महत्वपूर्ण प्रारम्भिक दिनहरूमा भेनेजुएला पठाउने बताएका छन् ।
You might also like