Nepali News Portal

शंकर पोख्रेलको नजरमा मदन भण्डारी

शंकर पाेख्रेल
१. निरंकुश पंचायतका विरुद्धमा संयुक्त जनआन्दोलनको वैचारिक नेतृत्व प्रदान गर्ने कुरामा
पहिलो, झापा आन्दोलनका माध्यमबाट पुनर्गठित कम्युनिष्ट आन्दोलनलाई उग्रवामन्थी अतिवादी बाटोबाट मोडेर जनआन्दोलन र जनसंघर्षको बाटोमा अघि बढाउने कुराको उहाँले वैचारिक नेतृत्व गर्नुभयो। वामपन्थी आन्दोलनभित्र सदैव विवाद र अन्योलको विषय रहँदै आएको कार्यनीति र रणनीतिको प्रश्नलाई सही ढङ्गले समाधान गर्ने कुरामा महत्त्वपूर्ण भूमिका खेल्नुभयो। साथै, “सही नीति भएर मात्र पुग्दैन, त्यसका लागि तदनुरूपको पहलकदमीको आवश्यकता पर्दछ” भन्ने नीतिका आधारमा कमरेड पुष्पलालले अघि सार्नुभएको संयुक्त जनआन्दोलनको नीतिलाई सफलतापूर्वक कार्यान्वयन गर्नुभयो।
परिणामस्वरूप, वाममोर्चाको गठन र नेपाली कांग्रेससँगको संयुक्त मोर्चा निर्माण गरेर वि.सं. २०४६ को जनआन्दोलनलाई वैचारिक र राजनीतिक नेतृत्व प्रदान गर्नुभयो। उक्त जनआन्दोलनका माध्यमबाट उहाँले ३० वर्ष लामो निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि नेपाली कांग्रेसका सर्वोच्च नेतामार्फत सिङ्गो कांग्रेसलाई सहमत गराउनुभयो। फलस्वरूप, शान्तिपूर्ण जनआन्दोलनका माध्यमबाट नेपालमा बहुदलीय व्यवस्थाको स्थापना सम्भव भयो।
२. संक्रमणकालीन राजनीतिको सही व्यवस्थापन र दुरदर्शिता
दोस्रो, जनआन्दोलनको सफलतापश्चात् त्यसको संक्रमणकालीन व्यवस्थापनमा पार्टीलाई सहभागी बनाउने र त्यसको नेतृत्व गर्ने कुरामा उहाँले साहसिक पहलकदमी लिनुभयो। अन्तरिम सरकार र संविधान निर्माणमा प्रत्यक्ष सहभागिताको कुरा परम्परागत कम्युनिष्ट आन्दोलनको मान्यताका हिसाबले निकै कठिन विषय थियो। संविधान जारी भएपछि उक्त संविधानमाथि २७ बुँदे असहमति सार्वजनिक गर्दै ‘आलोचनात्मक समर्थन’ गर्ने र प्रतिबन्धित तथा भूमिगत रूपमा क्रियाशील कम्युनिष्ट पार्टीलाई खुला गर्ने कुरा अहम् महत्त्वका विषय थिए।
वि.सं. २०४६ मा तत्कालीन नेकपा (माले) को आयोजनामा सम्पन्न नेकपाको चौथो महाधिवेशनबाट महासचिव निर्वाचित हुँदाको समयमा नै नेकपा (माले) परम्परागत एकदलीय प्रणालीको मान्यताबाट बाहिर निस्कने प्रयत्न गरिसकेको थियो, त्यसलाई व्यवहारमा उतार्ने काम जननेता मदन भण्डारीले गर्नुभयो। जननेता मदन भण्डारीको अगुवाइमा सार्वजनिक गरिएका ‘नेपाल अधिराज्यको संविधान २०४७’ माथिका २७ बुँदे असहमतिहरू नै पछि वि.सं. २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनबाट पुनःस्थापित प्रतिनिधिसभाको ऐतिहासिक घोषणाका आधार बन्न पुगे। यसले जननेता मदन भण्डारीको दूरदर्शितालाई प्रस्ट रूपमा उजागर गर्दछ।हामी भन्दा पहिले तानाशाह मार्कोसको सत्ता ढाल्न महत्वपूर्ण भूमिका खेल्न पुगेको फिलिपिनो कम्युनिष्ट पार्टीले राजनीतिक परिर्वतनको संक्रमणकालिन व्यवस्थापनको भूमिकावाट अलग गर्न पुग्दा त्यहाँको कम्युनिष्ट आन्दोलन कमजोर बन्न पुगेको थियो ।
३. जनताको बहुदलीय जनवाद (जबज) को विकास
तेस्रो, जननेता मदन भण्डारीले सोभियत समाजवादको विघटन, नेपालको कम्युनिष्ट आन्दोलनका विशिष्ट अनुभव तथा नेपाली समाजका मौलिक विशेषताका आधारमा कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरणको नेतृत्व गर्नुभयो। सोही क्रममा उहाँले नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा ‘जनताको बहुदलीय जनवाद’ (जबज) को विकास गर्नुभयो, जसलाई समयक्रममा नेकपा (एमाले) ले मार्क्सवाद-लेनिनवादको सिर्जनात्मक विकासका रूपमा आत्मसात् गर्दै आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको छ। विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला पनि नेपालमा कम्युनिष्ट आन्दोलनलाई राष्ट्रिय राजनीति र राज्य सञ्चालनको मुख्य शक्तिका रूपमा स्थापित गर्ने कुरामा जननेता मदन भण्डारी र ‘जबज’ को अहम् भूमिका रहेको छ। नेपालको कम्युनिष्ट आन्दोलमा जननेता मदन भण्डारीको नेतृत्वमा हासिल गरेको वैचारिक र राजनीतिक सफलता युरोपका कुनै मुलुकको कम्युनिष्ट आन्दोलनले पाएको भए त्यो विश्वव्यापी विषय वन्न सफल हुने थियो । तर हामीले जबजलाई अन्तर्राष्टिकृत गर्न भने अझै सकेका छैनौ ।

४. जडसूत्रवादको विरोध र अन्तर्राष्ट्रिय प्रभाव
चौथो, जननेता मदन भण्डारीले “जडसूत्रवाद र विसर्जनवादको विरोध गरौँ, मार्क्सवादको सिर्जनात्मक विकास गरौँ” भन्ने मूल नाराका माध्यमबाट जनवादी कार्यक्रमका विशेषतामा थप १४ विशेषता समावेश गर्नुभयो। यसरी उहाँले विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको जडता र युरो-कम्युनिज्ममा रहेको सुधारवादलाई सही दिशा प्रदान गर्ने कुरामा महत्त्वपूर्ण भूमिका खेल्नुभयो। वास्तवमा, मानवजातिले आर्जन गरेका जीवन्त र मूल्यवान् उपलब्धिहरूलाई पुँजीपति वर्गले आफ्नो वर्गको स्वार्थ र सेवाका लागि दुरुपयोग गरिरहेको अवस्थाबाट मुक्त गरी, त्यसलाई श्रमजीवी वर्गको मुक्ति र समृद्धिको आधारका रूपमा अघि बढाउन सकिने दूरगामी मान्यता उहाँले अघि सार्नुभयो।
कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरणमा नेतृत्वकारी भूमिका खेलेका कारणले नै विश्वप्रसिद्ध ‘न्युजविक’ (Newsweek) पत्रिकाले “कार्ल मार्क्स लिभ्स इन नेपाल” (नेपालमा कार्ल मार्क्स जीवित छन्) शीर्षकमा उहाँको अन्तर्वार्ता प्रकाशित गरेको थियो। बीबीसी (BBC) नेपाली सेवाले २१औँ शताब्दीको आरम्भमा गरेको सर्वेक्षणमा पनि गत सय वर्षमा नेपाली समाजलाई सर्वाधिक प्रभावित गर्ने प्रमुख व्यक्तिका रूपमा जननेता मदन भण्डारीको नाम सार्वजनिक गरेको थियो। यी सबैकुराले जबज र जननेता मदन भण्डारीको महत्वलाई स्थापित गर्दछन् ।
५. पार्टी जीवनको लोकतान्त्रिकीकरण र बहुपदीय प्रणाली
पाँचौँ, जननेता मदन भण्डारीले पार्टी निर्माण र संगठन परिचालनका सन्दर्भमा नयाँ दृष्टिकोण अघि सार्नुभयो। उहाँको त्यो दृष्टिकोणलाई कमरेड केपी शर्मा ओलीको अगुवाइमा नेकपा (एमाले) ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा ‘पार्टी जीवनको लोकतान्त्रिकीकरण’ को संगठनात्मक नीतिका रूपमा आत्मसात् गर्‍यो। उक्त नीतिको विकास हुनुभन्दा पहिले नेपालका राजनीतिक दलहरू सभापतीय प्रणाली वा महासचिवीय प्रणालीका रूपमा दुई भिन्न मान्यतामा विभक्त थिए। यतिबेला नेपालका अधिकांश राजनीतिक दलहरू अध्यक्षसहितको बहुपदीय प्रणाली अवलम्बन गर्ने ठाउँमा पुगेका छन्। यद्यपि, पछिल्लो समयमा राजनीतिमा युवाहरूको हस्तक्षेप बढेसँगै यसको अभ्यास र अनुभवका सन्दर्भमा थप परिमार्जन गर्नुपर्ने देखिन्छ। त्यसका लागि पनि ‘जबज’ को पार्टी निर्माण सम्बन्धी अवधारणाले महत्त्वपूर्ण मार्गदर्शन गर्ने सामर्थ्य राख्दछ।
६. पहिलो जननिर्वाचित कम्युनिष्ट सरकार र शान्ति प्रक्रियाको वैचारिक जग
छैटौँ, जननेता मदन भण्डारीले अघि सार्नुभएको कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरणको नीतिका कारणले नै क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन गर्ने ऐतिहासिक भूमिका नेकपा (एमाले) ले निभाउन सफल भयो। रहस्यमय जीप दुर्घटनाका माध्यमबाट जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको हत्या भएपछि, शोकलाई शक्तिमा बदल्ने संकल्पका साथ वि.सं. २०५१ सालमा नेकपा (एमाले) का तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा देशमा पहिलोपटक अल्पमतको एकल कम्युनिष्ट सरकार गठन भयो। उक्त सरकारले सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) र ग्रामीण विकासको क्रान्तिकारी कार्यक्रमका रूपमा अघि सारेको “आफ्नो गाउँ आफैँ बनाऔँ” अभियान अत्यधिक लोकप्रिय बन्न पुग्यो।
त्यो सरकार नौ महिना मात्र चले पनि त्यसको सकारात्मक प्रभाव नेपाली राजनीतिमा लामो समयसम्म रहिरह्यो, जसको वैचारिक आधार जननेता मदन भण्डारीले ‘जबज’ का माध्यमबाट प्रदान गर्नुभएको थियो। ‘जबज’ को यही लोकतान्त्रिक नीतिका कारणले नै १० वर्ष लामो माओवादी सशस्त्र आन्दोलनलाई शान्ति प्रक्रियामा ल्याउन सम्भव भएको थियो। यही नीतिको सफलताका कारण वि.सं. २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन सफल भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित हुन पुगेको हो।
७. वर्तमान राजनीतिक संकट र लोकप्रियतावादको चुनौती
सातौँ, यतिबेला नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलन दुवै संकटमा छन्। मुलुक लोकप्रियतावाद (Populism) र अराजकतावाद (Anarchism) को चपेटामा फसेको छ। वर्तमान बालेन सरकार लोकप्रिय जनादेशको आवरणमा अधिनायकवादको बाटोतर्फ अग्रसर देखिन्छ। ‘जेन्जी’ (Gen-Z) अभियानकर्ताहरूले सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालको निर्वाध प्रयोगको माग राखेर सुरु गरेको आन्दोलनलाई हाइज्याक (Misguide) गरिएपछि भदौ २३ र २४ गते भएका विध्वंसकारी घटनाका कारण यतिबेला मुलुक गम्भीर संकटमा परेको छ।
राष्ट्रिय स्वाधीनताको आन्दोलन इतिहासकै कमजोर अवस्थामा पुगेको छ। नयाँ सरकारका प्रधानमन्त्री बालेन शाहले सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विपक्षमा अभिव्यक्ति दिइरहेका छन्। निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको संघर्षबाट स्थापित गौरवशाली विद्यार्थी आन्दोलनलाई प्रतिबन्धित गरिएको छ भने ट्रेड युनियन आन्दोलनमाथिको प्रतिबन्धले पेसाकर्मीहरू असुरक्षित र भयभीत बन्न पुगेका छन्। प्रतिशोध र पूर्वाग्रहको सिकार राजनीतिक नेतृत्व मात्र होइन, देशका व्यापारी र व्यवसायीहरू समेत बनिरहेका छन्। यस प्रकारको चुनौतीको सामना गर्नका लागि पुनः एकपटक ‘जबज’ को आलोकमा सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भएर लोकतन्त्र र संविधानको रक्षाका लागि खडा हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ।
८. प्रविधिको विकास र वैचारिक पुनर्गठन
आठौँ, सूचना प्रविधिको तीव्र विकास र पछिल्लो समयमा भएको आर्टिफिसियल इन्टेलिजेन्स (AI) को अभूतपूर्व विस्तारले वर्गसंघर्ष र राजनीतिक संघर्षलाई नयाँ रूपमा संगठित एवं परिचालित गर्नुपर्ने बाध्यकारी परिस्थिति उत्पन्न गराएको छ। नेपालको राजनीतिमा पुनर्गठन र रूपान्तरणका सन्दर्भमा भदौ २३ र २४ को घटनापछि अनेकौँ प्रयोगहरू भए, तर ती सबै प्रयोग पपुलिज्म र एनार्किज्मको बढ्दो प्रभावलाई रोक्न असफल साबित भए। यस्तो विषम अवस्थामा पुनः एकपटक ‘जबज’ को आलोकमा यसको सिर्जनात्मक विकास गर्दै वर्तमानका चुनौतीहरूलाई सम्बोधन र समाधान गर्नुपर्ने आवश्यकता छ। समस्या जतिसुकै कठिन भए पनि त्यसको समाधान सम्भव हुन्छ र चुनौती जतिसुकै जटिल भए पनि त्यसको सामना गर्न सकिन्छ भन्ने कुरा जननेता मदन भण्डारीको जीवन संघर्ष र उहाँको वैचारिक सामर्थ्यबाट प्रस्ट रूपमा बुझ्न सकिन्छ। त्यसवाट प्रेरणा लिएर नेकपा(एमाले)को नेतृत्वको कम्युनिष्ट आन्दोलनलाई नयाँ रुपमा अघि वढाउने संकल्प गर्नु पर्ने भएको छ ।
९. आत्मसमीक्षा, आत्मआलोचना, जनअपेक्षा र नयाँ पुस्ताको सवाल
नवौँ, यतिबेला मदन भण्डारी फाउन्डेसनले जननेता मदन भण्डारीको हीरक जयन्ती मनाउन लागिरहेको अवसरमा उहाँले विगतमा खेल्नुभएको योगदानको परम्परागत चर्चामा मात्र सीमित नभएर, आजका समकालीन समस्या र चुनौतीको सामना गर्ने वैचारिक आधारका रूपमा ‘जबज’ लाई कसरी आत्मसात् गर्ने भन्ने कोणबाट गम्भीर छलफल गर्नु आवश्यक छ। वास्तवमा, कमरेड केपी शर्मा ओलीको नेतृत्वमा देशभक्तिको प्रश्नमा, विकास र समृद्धिको एजेन्डामा र सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य निर्माणको सवालमा युगान्तकारी महत्त्वका कामहरू भएका छन्। तर, ती कामहरूले आम जनतालाई र विशेष गरी प्रविधिको युगमा हुर्कँदै गरेको नयाँ पुस्तालाई किन सन्तुष्ट गर्न सकेन र उनीहरु असन्तुष्ट भए भन्ने कुरा यतिबेलाको सबैभन्दा अहम् प्रश्न हो।
यस सन्दर्भमा जननेता मदन भण्डारीले सोभियत समाजवादको विघटनका सन्दर्भमा गर्नुभएको विश्लेषण हाम्रो आजको परिवेशमा पनि एउटा महत्त्वपूर्ण पाठ सक्दछ। उहाँले इतिहासमा धेरै राम्रा कामहरू गर्दागर्दै पनि आफैँभित्रका कमजोरी र जनअसन्तुष्टिहरूलाई समयमै सम्बोधन गर्न नसकेका कारण सोभियत समाजवादको विघटन भएको निष्कर्ष निकाल्नुभएको थियो। यतिबेला हाम्रो सन्दर्भमा पनि जनताको बद्लिएको आकांक्षा र असन्तुष्टिलाई समयमै बुझ्न र सम्बोधन गर्न नसक्दा नै भदौ २३ र २४ गतेका दिन राष्ट्रविरोधी र कम्युनिष्ट विरोधी शक्तिहरूले राजनीतिक लाभ लिन सफल भए। यसबाट गहिरो शिक्षा लिएर हामी अघि बढ्न सक्नुपर्दछ।
भदौ २३ र २४ को विध्वंसको त्रास र त्यस षड्यन्त्रको निरन्तरताका रूपमा आयोजना गरिएको गत आम निर्वाचन लोकतान्त्रिक शक्तिहरूका लागि प्रतिकूल त थियो नै, तर त्यस प्रकारको षड्यन्त्रलाई समेत जनताले परिवर्तनका रूपमा बुझ्ने र साथ दिने कुरामा पुराना भनिएका दलहरूको कार्यशैली, आचरण र व्यवहारसमेत एकहदसम्म जिम्मेवार रहेका छन् भन्नेकुराको खोजी र विश्लेषण यतिवेलाको मुख्य सवाल हो । यी सबै कुराको राजनीतिक दलहरूले वस्तुनिष्ठ समीक्षा गर्दै आफूलाई नयाँ शिराबाट अघि बढाउने दृढ संकल्प गर्नुपर्दछ। यस सन्दर्भमा, पूर्वराजा ज्ञानेन्द्रको नेतृत्वमा भएको वि.सं. २०५९ असोज १८ र त्यसपछिको वि.सं. २०६१ माघ १९ को प्रतिगामी कदमको सामना गर्नका लागि राजनीतिक दलहरूले आफ्ना नीति र कार्यनीतिमा ल्याएको गतिशीलता र बदलावबाट पनि आजको नेतृत्वले गम्भीर शिक्षा लिनु आवश्यक छ।
जनता इतिहासका निर्माता हुन् भन्ने कुरालाई आधार बनाएर हेर्ने हो भने प्रमुख राजनीतिक दलहरुले यतिवेला जनता आफूवाट किन टाढा भए भन्ने कुराको खोजी वाह्य षडयन्त्रमा मात्र होइन आफै भित्रका कमजोरीमा पनि खोज्नु पर्दछ । जनता साथमा रहदा वाह्य षडयन्त्रलाई पनि सामना गर्न सकिन्छ भन्ने कुरा संविधान निर्माणको समयमा केपी शर्मा ओलीको नेतृत्वमा भएको कामलाई नेपाली जनताले दिएको साथवाट पनि बुझ्न सकिन्छ । तसर्थ आफै भित्र प्रवेश गरौ । जननेता मदन भण्डारीले वारम्वार भन्नु भएझै सिंहावलोकन गरेर त्यसको निष्कर्शका आधारमा नयाँ ढंगले वैचारिक, राजनीतिक र संगठनात्मक रुपमा पुनर्गठित हुदै अघि वढौ । जबजको निर्माण र विकासको अनुभवले दिएको शिक्षा यही हो । हिरक जयन्तीको अवसरमा जननेता मदन भण्डारीप्रति उच्चसम्मानका साथ जबजलाई आजको सन्दर्भमा गहिरो अध्ययन र आत्मसात गरौ । (पोख्रेल नेकपा एमालेको महासचिव हुनुहुन्छ )

You might also like
Leave A Reply

Your email address will not be published.