भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आइतबारदेखि ‘पवनकुमार सेठिया स्मृति मैत्रीपूर्ण क्रिकेट प्रयोगिता’ हुने भएको छ । क्रिकेटको विकास र खेलाडीहरुको क्षमतामा थप निखारता ल्याउन प्रतियोगिता आयोजना गरिएको हो ।
आयोजकले शनिबार भैरहवामा पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिएका हुन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ‘ए’ टीम र रुपन्देही–११ टीम बीच प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार प्रतियोगिता अवधीभर ९० ओभरका एउटा, एकदिवसीय तीनवटा र टी–२० तीनवटा खेल हुनेछन् । मुलुकमै दुई टीमबीच यस्तो फम्र्याटमा पहिलोपटक क्रिकेट हुन लागेको हो ।
प्रतियोगिता संयोजक प्रथम पराजुलीलले पुस २० र २१ गते टेष्ट, २३, २५ र २७ गते ओडीआई, २९, ३० र माघ १ गते टी–२० क्रिकेट हुनेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताले क्रिकेटको विकासमा कोशेढुंगा सावित हुने संघका अध्यक्ष हरिबहादुर थापाले बताउनु भयो । उहांले यस्ता प्रतियोगिता नियमित आयोजना गर्न सक्ने हो भने क्रिकेट र खेलाडी दुबैका लागि राम्रो अवसर हुने बताउनु भयो ।
भित्रुवन आर्मी क्लब ‘ए’ टीमका कप्तान जितेन्द्रसिंह ठकुरी र रुपन्देहीका कप्तान देव खनालले यो प्रतियोगिता आफूहरुका लागि निकै राम्रो अवसर भएको बताउनु भयो ।
प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिश सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गर्नुभएको छ । प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यी दुबै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ ।