“चिहानबाट जागेर को सक्छ फेरी आउन,
प्रतिगमनकारी त्यो कसरी सक्छ व्यूँतन?”
बुटवल । नेपाली जनताले बिदा गरिसकेको पुरातनवादी व्यवस्थालाई पुनःस्थापित गर्ने प्रयासको विरोधमा प्रगतिशील लेख तथा साहित्यकारहरु सडकमा पुग्नु भएको छ ।
प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीको संयोजन तथा लुम्बिनी प्रदेशको आयोजनामा “प्रतिगामी चिन्तन विरुद्ध सडक कविता” कार्यक्रम सम्पन्न भएको छ।
तिलोत्तमा नगरपालिका, मणिग्राम चोकमा आयोजित कार्यक्रममा साहित्यकार तथा सर्जकहरूले कविता, गजल, मुक्तक, गीत तथा लघुकथा मार्फत लोकतन्त्र विरोधी प्रवृत्तिहरूको भण्डाफोर गर्नुभयो ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डा. मुरारि पराजुलीले इतिहासमा पछाडि फर्कने प्रयास सधैं असफल हुने भन्दै साहित्यकारहरूले लोकतान्त्रिक चेतना उजागर गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीका अध्यक्ष कृष्ण गाउँलेले जनताले संघर्ष गरेर उखेलिसकेको व्यवस्थाको पुनरागमन असम्भव भएको भन्दै निरन्तर साहित्यिक लगायतका विभिन्न माध्यमबाट सचेतना अभियान आवश्यक रहेको बताउनु भयो । नेपाली लेखक सङ्घ, रूपन्देहीका अध्यक्ष लिलाधर पाण्डेले साहित्य सिर्जनात्मक प्रतिरोधको बलियो माध्यम भएकाले यसलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्नु भयो ।
“चिहानबाट जागेर को सक्छ फेरी आउन,
प्रतिगमनकारी त्यो कसरी सक्छ व्यूँतन?”
भन्ने नारासहित आयोजित कार्यक्रममा डा. मुरारि पराजुली, डा. हरिप्रसाद भण्डारी, रूद्र ज्ञवाली, कविराज पौडेल, कृष्ण गाउँले, लिलाधर पाण्डे, सीता ढुङ्गाना काफ्ले, सुवास रिजाल, ज्ञानु के. सी., हरिप्रसाद पौडेल, नारायण प्रसाद भण्डारी, सागर के. सी., मुकुन्द भट्टराई, केशव बेलबासे, खेम बहादुर गुरुङ, उद्दव देवकोटा, यदु लामिछाने, तिलक लामिछाने, दुर्गा थापा मगर, कमला भण्डारी लगायतका साहित्यकारहरूले आफ्ना सशक्त रचनाहरू प्रस्तुत गर्नुभएको थियो ।
वाचित रचनाहरू लोकतान्त्रिक चेतना प्रवर्द्धन गर्ने, राजतन्त्र पुनःस्थापना गर्ने षड्यन्त्रको भण्डाफोर गर्ने, सामाजिक न्यायको पक्षपोषण गर्ने र जनताको अधिकारको संरक्षण गर्ने खालका रहेका वरिष्ठ साहित्यकार कबिराज पौडेलले जानकारी दिनु भयो । कतिपय कविताहरूले नेपाली जनताले इतिहासमा गरेको बलिदान र संघर्षको स्मरण गरायो भने केही रचनाहरूले प्रतिगमनकारी मानसिकताको विरोध गर्दै वर्तमान समयको राजनीतिक सचेतना उजागर गरे। गजल तथा मुक्तकहरूमा व्यक्तिगत स्वतन्त्रता, समाजमा विद्यमान अन्यायको भण्डाफोर र चेतनाको प्रकाश फैलाउने सन्देश समेटिएको थियो। गीतहरू मार्फत लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा, जनताको जागरणको आव्हान गरिएको थियो ।
कार्यक्रममा समाजमा व्याप्त पछौटेपन, अन्याय, उत्पीडन तथा लोकतन्त्रलाई उल्टाउने प्रयासको विरोध गर्दै साहित्यले सचेतनाको नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गरिएका थिए । प्रस्तुत रचनाहरूमा विद्रोह, जनताको अधिकार र प्रजातान्त्रिक चेतनाको पक्षपोषण गरिएको थियो।
You might also like