Nepali News Portal

विभिन्न कार्यक्रम गरि मनाईयो संविधान दिवस

बुटवल  । आज देशै भरी विभिन्न कार्यक्रम गरि संविधान दिवस-२०८२ मनाईएको छ ।

लुम्बिनी प्रदेशमा पनि आज संविधान भब्य रुपमा दिवस मनाईयो ।
प्रदेश सरकारको आयोजनामा भएको समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पुस्ताको चाहना अनुसार काम गर्न प्रतिबद्धता जनाउनु भयो । मुख्यमन्त्री आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप कार्यशैलीमा परिवर्तन गर्दै सबैको विश्वास जितेर अघि बढ्नु आजको आवश्यकता भएको बताउनु भयो । ‘युवा पुस्ताको चाहनाअनुरूप हाम्रो काम थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढङ्गले अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध छ’ मुख्यमन्त्री आचार्यले भन्नु भयो।
उहाँले सेवा प्रवाहमा हुने ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने समेत बताउनु भयो । कार्यक्रममा सभामुख तुलाराम घर्तिमगरले पछिल्लो राजनीतिक परिस्थितिबारे चर्चा गर्नु हुँदै संविधानभित्रबाट निकास खोजिनुपर्नेमा जोड दिनु भयो । उहाले यही संविधानभित्र बसेर युवा पुस्ताको सोचलाई सम्बोधन गर्दै अघि बढ्न सकिने बताउनु भयो ।
संविधानको रक्षा र कार्यान्वयनमा जनता एकाकार भएर लाग्न जरुरी : सभामुख
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधान कार्यान्वयनकै चरणमा रहेकाले यसको ईमानदारीताका साथ कार्यान्वयनमा जोड दिनु भएको छ ।
संविधान दिवसको अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्नुहुँदै सभामुख घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन, विकास र संमृद्धिको आकाक्षा पूरा गर्ने संकल्प नेपालको संविधान -२०७२ ले लिएको स्मरण गराउनु भयो ।
संघीय शासन प्रणालीको नितान्त नयां संरचनाको रुपमा प्रदेश संरचना रहेको र जुन संघीय संरचनाको मुटु र मुल मर्म भएको जनाउनु हुँदै उहाँले संघीयता कार्यान्वयनको क्रममा देखिएका कतिपय कार्यशैलीगत कमीकमजोरीलाई सुधार गर्दै प्रदेशको सबलिकरण जरुरी रहेकोमा जोड दिनु भएको छ । “संघीयता कार्यान्वयनको क्रममा देखिएका हाम्रा कतिपय कार्यशैलीगत कमीकमजोरीका कारण प्रदेश संरचनाप्रति प्रश्न चिन्ह उठेका छन् ।” शुभकामना सन्देशमा उल्लेख छ-” यसलाई गम्भिरता पूर्वक सम्बोधन गर्न र संविधानको भावना तथा जनताको चाहना अनुसार नै संविधान र संघीयता कार्यान्वयनमा सबै गम्भिर र जिम्मेवार बन्नुपर्छ ।”
उहाँले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को कार्यान्वयनमा देखिएको कमीकमजोरीलाई सच्चाएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान परिमार्जन हुंदै जाने विश्वास व्यक्त गर्नु भएको छ ।
लुम्विनी प्रदेश सभाले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै सामाजिक न्यायको शिद्धान्तमा आधारित भई जनचहाना अनुसार नै प्रदेशको नीति तथा कानुन निर्माण गरिरहेको जनाउनु हुँदै उहाँले संविधानको रक्षा र कार्यान्वयनमा राज्य संरचना मात्र नभई सम्पूर्ण नेपाली जनता एकाकार भएर लाग्न जरुरी रहेकोमा जोड दिनु भएको छ । “नेपाली जनताको ठूलो बलिदानी पछि उपलब्धीका रुपमा प्राप्त भएको संविधान र संघीयता कार्यान्वयनमा इमान्दारीता पूर्वक लागौं संविधान दिवसको अवसरमा पुनः शुभकामना व्यक्त गर्दछु ।” शुभकामना सन्देशमा उल्लेख छ ।
जनताको सार्वभौम संस्था संविधान सभा मार्फत संविधान निर्माण गरी जारी भएको आज १० वर्ष पुरा भएको छ ।
संविधान दिवस–२०८२ को अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा–वुवा दिदी–बहिनी एवं दाजु भाईहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु हुँदै सभामुख घर्ती मगरले यो विशेष दिनमा जनयुद्ध, जनआन्दोलन एवं क्रान्ति, जेन–जी आन्दोलन तथा संघर्षमा जीवन उत्सर्ज गर्नुहुने महान् सहिदहरु प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नु भई घाईते अपाङ्ग, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्नु भएको छ । उहाँले संविधान निर्माण प्रकृयामा महत्वपूर्ण योगदान पु¥याउनु हुने माननीय संविधान सभा सदस्य लगायत सम्पूर्णमा हार्दिक आभार तथा कृतज्ञता समेत व्यक्त गर्नु भएको छ ।

 

You might also like
Leave A Reply

Your email address will not be published.