बुटवल । रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवा प्रधान कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिको २० औं साधारणसभा सम्पन्न भएको छ । १० वटेेे े सेवा केन्द्रमा एकै साथ साधारणसभा भएको हो । उक्त सहकारीको बुटवल सेवा केन्द्रले आफ्नो साधारण सभा बुटवलमा आज सम्पन्न गरेको छ ।
सभामा बुटवल सेवा केन्द्र संयोजक जोगबहादुर सूर्यवंशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बुटवल–११ का वडा सदस्य युवराज रानाले जनउत्थानले वित्तीय साक्षरतामा उल्लेखनीय योगदान दिँदै आएको भन्दै सहकारीको पारदर्शी कार्यशैलीकै कारण आफ्ना परिवारका सबै सदस्य यस संस्थामा आवद्ध भएको बताउनु भयो । त्यस्तै बुटवल–८ की वडा सदस्य सीता खनालले सहकारीले वास्तवमै जनताको उत्थान गर्ने खालका गतिविधि सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।
सदस्य गोमा ढुङ्गानाले जनउत्थान साकोसले सामाजिक दायित्वअनुरूप सरकारले छुन नसकेका क्षेत्रमा समेत काम गर्दै जनताको विश्वास जित्न सफल भएको बताउनु भयो । कार्यक्रममा स्वागत कुलबहादुर केसी तथा सञ्चालन सीता गाहाले गर्नु भएको थियो ।
साधारण सभामा संयोजक सूर्यवंशीले सेवा केन्द्रको वास्तविक तथा अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्नु भयो । सदस्य गीता खनालले “नाफाभन्दा सदस्य सेवामा जोड” भन्दै संस्थाले सञ्चालन गरिरहेको ‘एज केयर सेन्टर’बारे जानकारी दिनु भयो । सल्लाहकार ईश्वरचन्द्र पोखरेलले सहकारी असफल हुने कारणबारे प्रष्ट पार्दै बाहिरबाट आएर सहकारी सञ्चालन गर्ने, अपचलन गर्ने तथा बोनसको नाममा शेयर रकम बढाउने प्रवृत्तिले धेरै सहकारी डुबेको बताउनु भयो ।
बुटवल सेवा केन्द्रमा हाल शेयर सदस्य संख्या १,९२८ रहेको छ भने कुल पुँजी १९ करोड २८ लाख पुगेको छ। यसमध्ये ऋण लगानी १३ करोड ३७ लाख र बचत संकलन ९ करोड ६४ लाख रहेको छ। जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको समग्र शेयर सदस्य संख्या ३९ हजार ६९०, कुल पुँजी ४ अर्ब ४४ करोड, ऋण लगानी ३ अर्ब ३५ करोड र बचत संकलन ३ अर्ब ४६ करोड पुगेको उपाध्यक्ष सरु रानाले जानकारी दिनु भयो ।