उपप्रधान तथा अर्थ मन्त्रीद्वारा अस्पतालका विभागीय प्रमुखहरुसँग छलफल आयोजनाको अपनत्व अस्पताल प्रशासनले पनि लिने बाताबरण बनाउनु पर्छ : अध्यक्ष
उपप्रधान तथा अर्थ मन्त्रीद्वारा अस्पतालका विभागीय प्रमुखहरुसँग छलफल
आयोजनाको अपनत्व अस्पताल प्रशासनले पनि लिने बाताबरण बनाउनु पर्छ : अध्यक्ष
बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा अस्पताल बिकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखहरुसँग शनिबार छलफल गर्नु भएको छ ।
छलफलमा अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारको आयोजनामा निर्माणाधिन भवनमा अस्पताल परिवारलाई अपनत्व दिलाउन नसकेको गुनासो गर्नु भयो । आयोजना जसले सञ्चालन गरेको भए पनि जनताले त्यसमा हुने कमजोरी तथा ढिला सुस्तिका विषयमा सबैभन्दा पहिलो बिकास समिति, अस्पताल प्रशानलाई नै प्रश्न उठाउने गरेको बताउनु हुँदै यसको कार्यान्वयनका लागि समन्वय गर्न प्रदेश पूर्वाधार प्राधिकरणसँग आग्रह गर्नु भयो ।
उहाँले अस्पतालको सेवाका विषयमा बजारमा आएका आलोचना बारे बोल्दै अध्यक्ष श्रेष्ठले सीमित जनशक्ति र सीमित श्रोतसाधानले ठूलो संख्याका बिरामीलाइ सेवा प्रदान गर्नु परेको बाध्यता बुझिदिन आग्रह गरिदिन अनुरोध गर्नु भयो । अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी सेवाग्राहीको भिड लाग्दा महिनौसम्म लाइन लाग्नु पर्ने स्थितीको सिर्जना भएको बताउनुहुदै उहाँले उक्त समस्यालाई समाधान गर्नका लागि प्रदेश सरकारले प्रयाप्त लगानी र जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।
यसैगरी अस्पतालमा नेतृत्वका विषयमा हुने राजनीतिक द्वन्दको बेफाइदा सेवाग्राहीले भोग्नु परेको भन्दै यसको दिर्घकालिन समाधानको माग गर्नु भयो । विभिन्न कानूनी उल्झनले अस्पताल बिकास समिति तथा अस्पताल प्रशासनले आफ्नो क्षमता अनुसारको काम गर्न नपाइरहेको समयमा सरकारले राजनीतिक तवरबाट समाधान खोज्न आग्रह गर्नु भयो । बिकास समिति र अस्पताल प्रशासनलाई सेवा सुधारका लागि पूर्ण अधिकारमा रहेर काम गर्ने अवसर सरकारले सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो ।
अस्पतालमा हाल उपलब्ध जनशक्ति, उपकरण तथा दैनिक आउने सेवा ग्राहीको चाप बारे जानकारी गराउँदै विभागीय प्रमुखहरुको तर्फबाट डा. वर्षा थापाले प्रस्तुती राख्नु भयो । हाल उपलब्ध जनशक्तिले थेग्न सक्नेभन्दा पनि ३ गुणा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु परेको भन्दै उहाँले जनताबाट आउने गुनासो र सुधार गर्नुपर्ने भन्दै सरकारका प्रतिनिधिहरुले दिने दबाब आफूले झेल्नु परेको बताउनु भयो। स
अन्तरक्रियमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्वास्थ्य मन्त्री खेबबहादुर सारु, स्वास्थ्य निर्देशनालयका प्रमखु डा. विनोद गिरी, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरी टेन्डेन (मेसु) डा. इन्द्र ढकालसहित विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो । अस्पतालका मेसु ढकालले अस्पतालको सेवा सुधार तथा विस्तारका लागि तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढिएको जानकारी दिनु भयो । यसैगरी अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने समस्यालाई कम गर्न छिट्टै उपकरण तथा कार्यकक्ष थपको योजना समेत रहेको उहाँले बताउनु भयो ।
छलफलमा प्राप्त प्रतिक्रियाहरुपछि बोल्दै अर्थमन्त्री पौडेलले सेवा भावकासाथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्नु पर्ने बताउनु भयो ।
अस्पतालमा निर्माणाधिन अत्याधुनिक १२ तले भवन सम्पन्न भएपछि यहाँको स्वास्थ्य सेवामा ठूलो फड्दो मार्न सकिने बताउँदै उहाँके सरकारकोतर्फबाट बजेटमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो । अस्पतालको भवन संरचना बनाउनु मात्रै ठूलो कुरा नभई दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरुको व्यवस्थापन पनि महत्वपूण रहेको उल्लेख गर्नु भयो । बुटवललाई आर्थिक राजधानी बनाउने विषयसँग अस्पताल जोडिएको बताउँदै उहाँले सोही अनुसार सबैजना एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
छलफलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पतालमा गुनासोरहित सेवा जनताको अपेक्षा रहेको बताउनुहुदै त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिनु भयो। शल्यक्रिया सेवा तथा अन्य सेवाका लागि महिनौं कुर्नुुपर्ने विषयमा बजारमा आएका टिप्पणीहरु बारे उल्लेख गर्दै उहाँले सुधारका लागि प्रदेश सकारले आवश्यक सहयोग गर्न तयार रहेको र अस्पताल परिवारले पनि जिम्मेवारीपूर्ण काम गर्न निर्देशन दिनु भयो।