बुटवल । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दु:ख व्यक्त गर्दै घटनाले आफू मर्माहत भएको जनाउनु भएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत बुधवार मृतकप्रति श्रद्धाञ्जली, आफन्तमा समवेदना र घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ । यसैबिच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले जहाज दुर्घटनाले आफू स्तब्ध भएको बताउनु भएको छ । सामाजिक संजाल मार्फत उहाँले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त आफन्तजनमा समवेदना र घाइते क्याप्टेन मनीषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको हो ।
मर्मतका लागि बुधवार बिहान पोखरा उडान गर्ने क्रममा सौर्य एयरलाइन्सको ९एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो । जहाँ एयरलाइन्सका टेक्निकल स्टाफ र तिनका परिवारका केही सदस्यसहित १९ जना सवार थिए । जसमध्ये १८ जनाको ज्यान गएको छ ।
छानबिन हुन्छ : प्रधानमन्त्री सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिनु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा पुगेर ब्रिफिङ लिनु भयो । त्यसअघि उहाँ दुर्घटनास्थल पुगेर निरिक्षण गर्नु भएको थियो । प्रधानमन्त्रीसँग गृहमन्त्री रमेश लेखक पनि निरिक्षणमा पुग्नु भएको थियो ।
You might also like