Nepali News Portal

लुम्बिनीले जेठ २१ मा नीति तथा कार्यक्रम ल्याउने  

  देउखुरी (दाङ ) लुम्बिनी प्रदेश सरकारले  जेठ २१ गते आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको  छ । प्रदेश मन्त्रीपरिषद्को आज शुक्रबार बसेको बैठकले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई आमन्त्रण गर्ने निणर्य भएको स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिनुभयो । प्रदेश मन्त्रीपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । बाणगंगा नगरपालिका-८, कपिलवस्तु निवासी खनाल यस अघि  योजना अयोगको सदस्य हुनुहुन्थ्यो ।

अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना अयाोग पदाधिकारी विहिन भएको थियो । मुख्यमन्त्री महराले आफ्नो सचिवालयमा दुई जना विज्ञलाई नियुक्त गर्नुभएको छ । पूर्वाधार विज्ञको रूपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रुपमा सुुशान्त बैद्दिकलाई नियुक्त हुनुभएको हो ।

यस्तै प्रदेश मन्त्री परिषद् बैठकले प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको प्रमुखहरुको सरुवा समेत गरेको छ । जस अन्र्तगत गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ । भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा.सकुन्तला गुप्ता लुम्बिनी प्रादेशीक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको स्वास्थ्य मन्त्री पुनले जानकारी दिनुभयो । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा.इन्द्र ढकाललाई बनाउने निर्णय भएको छ ।

 

You might also like
Leave A Reply

Your email address will not be published.