बुटवल ।
पाठक मन्च बुटवलको आयोजनामा कवि सुमिनाको कवितासंग्रह बागी स्त्रीको आत्मकथा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता मार्क्सवादी चिन्तक लेखक तथा कवि दिल साहानिले सुमिना कवितामा विद्रोही नारी स्वर बुलन्द भएर आएको साथै कविता सामाजिक यथार्थवाद र समाजवादी यथार्थवादमा मिश्रित भएर प्रकट भएको बताउनुभयो ।
इतिहासको अध्ययनबाट इस्पार्टाकस , प्रमिथस र सम्बुकजस्ता मिथकीय पात्रहरूलाई कवितामा उतार्नु सकारात्मक र प्रशंसनीय भएको बताउदै सुमिनाको लेखनले उज्ज्वल भविष्य संकेत गरेको बताउँदै विद्रोह र मुक्तिको आन्दोलन एकल सङ्घर्षबाट मात्रै नभएर सामूहिक प्रयत्नबाट हुने कुरामा पनि उहाँले जोड दिनुभयो समाजका पुरातन मान्यता ध्वंस गर्नका लागी बिदेह हुनुपर्छ जुन बिद्रोह सुमिनाका कवितामा भेटिन्छ ।
त्यसैगरी शिक्षक मिनाक्षी न्यौपानेले पनि सुमिनाका कवितामा जो कोही पाठकले आफैलाई भेट्टाउन सक्ने बताउनुभयो । बागी स्त्रीको आत्मकथा समाजको ऐना भएको बताउनुभयो । लेखनमा यस्तो खालको विद्रोहि नारी चेतना आवश्यक रहेको कुरामा जोड दिदै शुभकामना व्यक्त गर्नुभयो ।
कविता के हुन र कस्ता हुन भन्ने कुरा कविले व्याख्या गर्नुपर्ने परिस्थिति निम्तनुलाई असफल कविताको संज्ञा दिदै कवि सुमिनाले आफ्ना कविता सफल कविता हुन् भने ती कविताले पाठकहरूको माझमा आफूलाई स्वतस्फुर्त रुपमा चिनाउनुपर्ने कुरा व्यक्त गर्नुभयो । लेखन मेरो निम्ति लोकरिझाइ प्रसिद्धि लोकप्रियताको भावना अथवा भावुकता मनोरञ्जन भन्दा निकै माथिको कुरा हो । कविता मेरो निम्ति सत्यको अभिव्यक्ति पनि हो । मैले जुन विचारसहित जुन वर्गको कविता लेखेकी छु त्यो हाम्रो समाजको बहुसंख्यक तप्काले नरुचाउने कविता बन्छ भन्ने कुराको पूर्वआभास म सँग थियो र छ त्यसलाई म स्वभाविक रुपमा नै लिन्छु अल्पसंख्यक नै भए पनि न्याय र सत्यको पक्षमा दृढतापूर्वक हाम्रा कलम चल्नुपर्छ र हामी उभिनुपर्छ भन्ने मान्यताका साथ नै मैले यी कविताहरू लेखेकी हुँ । मेरो निम्ति सत्यको अभिव्यक्ति, वर्ग पक्षधरता, वैचारिक हस्तक्षेप र आफैमा एउटा न्यायको लडाइ हो कविता सुमिनाले भन्नुभयो । कार्यक्रममा अम्बिका पोखरेल र रमा जैसीले बागी स्त्रीको आत्मकथामा समावेश कविता वाचन गर्नुभएको थियो ।कार्यक्रम गिरि श्रीस मगरको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्राज्ञिक, बौद्धिक व्यक्तित्व ,नारी स्रष्टा र साहित्यकारहरूको बाक्लो उपस्थीती रहेको थियो ।