देउखुरी (दाङ)। लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले शिक्षा क्षेत्रको समस्या समाधान गर्न नेपालको शिक्षा नीतिमा दर्शनको स्पष्टता जरुरी रहेको बताउनु भएको छ । शिक्षाको लागी राष्ट्रिय अभियान लुम्बिनीले दाङको भालुवाङमा आयोजना गरेको सार्बजनिक शिक्षामा लगानी र समाबेशी शिक्षा : नीति , बजेट र कार्यान्वयन विषयक लुम्बिनी प्रदेश स्तरीय सम्बाद कार्यक्रमको उदघाटन गर्नु हुँदै सभामुख घर्ती मगरले नेपालको शिक्षा नीति कुन दर्शनको धारमा आधारित हुने भन्ने कुरा अझै स्पष्ट हुन नसकेको बताउनु भयो ।
“पूर्विय दर्शनको शिक्षाले मानिसहरुलाई सुखि र ज्ञानी बनाउने भन्छ भने पश्चिम दर्शनको शिक्षाले धनि र समृद्ध बनाउने भन्छ ।”– उहाँले भन्नु भयो- “हाम्रो शिक्षा निति कुन धारमा छ भन्ने कुरा आजको मुख्य बहसको विषय हो।” उहाँले शिक्षालाई हेर्न बैचारिक, सैद्धान्तिक, दार्शनिक बहस सुरु गर्न जरुरी रहेकोमा जोड दिनु भयो ।
शिक्षा सम्बन्धी संघीय कानुन बन्न ढिलाई हुँदा शिक्षाको समस्या समाधान हुन नसकेको उहाँले बताउनु भयो । उहाँले नेपालमा अझै पनि २०२८ सालको शिक्षा नीति लागू भएकाले शिक्षा क्षेत्रमा देखिएका समस्या हल गर्न नसकिएको बताउनु भयो ।
नीतिगत दायित्व नभएपनि लुम्बिनी प्रदेशले बिधालयतहलाई सहयोग गरेको बताउनु हुँदै उहाँले शिक्षामा संघ प्रदेश र स्थानीय सरकारले पर्याप्त बजेट छुट्टाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य तथा पूर्व स्वस्थ्यमन्त्री विष्णु पन्थीले शिक्षाको गुणस्तरमा ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले विनियोजन बजेट खर्च गर्न नसक्ने र भएको बजेट शिक्षाका लागी कमी रहेको बताउनु भयो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष लवराज वलीले संस्थाले ठोस कार्यक्रम, परियोजना चलाउने भन्दा पनि सिकाईलाई आदानप्रदान, राज्यलाई शिक्षाका राम्रा अभ्यासहरुको बारेमा जानकारी दिने गरिएको बताउनु भयो ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक राम गैरेले शिक्षालाई मौलिक हकका रुपमा स्विकारेको हुदा यसको पहुच र गुणस्तरको सुधारको जिम्मा सरकारको भएको बताउनु भयो । निशुल्क शिक्षा राज्यको जिम्मेवार भएको बताउँदै शिक्षा देशको अर्थतन्त्रसंग शिक्षा जोडिएको हुदा पनि शिक्षामा राज्यबाट पूर्ण रुपमा लगानी हुनुपर्ने बताउनु भयो । सार्वजनिक शिक्षा प्रणाली बलियो बनाउन सरकारसंग संयन्त्र परिचालन , पाठ्यपुस्तकमा सुधार गर्न जरुरी रहेको बताउनु भयो ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत वेगम केसीले लुम्बिनी प्रदेश सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीको बारेमा जानकारी गराउनु हुँदै शिक्षा क्षेत्रको समस्या समाधान गर्न र गुणस्तरीय शिक्षाको लागि प्रयत्न भइरहेको बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास समितिका सदस्य रेखा शर्मा, शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरी, लुम्बिनी प्रदेश संयोजक समिता मल्लले शिक्षामा बजेटको अवस्था, निशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनमा जोड दिनु भयो ।
यसैबिच शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एमसिई नेपाल) को लुम्बिनी प्रदेशको अधिवेसनबाट कृष्ण मल्लको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । जसको सहयोजक रुपलाल चौधरी, सचिव सावित्रा घिमिरे, कोषाध्यक्ष रिता थापा बोहरा, सदस्यहरुमा प्रकाश भ्रुतेल, चन्द्रकला पुन, बसन्ता गहतराज, चोपलाल गिरि, तिल कुमारी श्रेष्ठ, गिता भुषाल, सिता कुमारी चौधरी सर्वसम्मत निर्वाचित हुनु भएको छ।