देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सभाको आठौं अधिबेशनको १९ औं बैठकमा आज मुख्यमन्त्री आचार्यले बिश्वासको मत प्राप्त गर्नु भएको हो ।
सभामुख तुलाराम घर्ती मगरले मत बिभाजन मार्फत मुख्यमन्त्री आचार्यले आफुमाथी प्रदेश सभाको बिश्वास छ भनी राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नु भयो । मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्ष (हुन्छ) भन्नेमा ४५मत र विपक्ष (हुन्न)मा २६ मत परेको थियो ।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी हुनुहुन्थ्यो ।
प्रदेश सभा बैठकमा आठ जना सदस्य अनुपस्थिति रहेको थियो । अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित हुनु भयो ।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिनुभएको हो । कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा रहेको दलहरूको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाउनुभएको हो ।