पुर्ब प्रधानमन्त्री देउवा स्वदेश फर्किदै
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारपश्चात् बिहीबार स्वदेश फर्कन लाग्नु भएको छ ।
कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति देउवा र डा. शेखर कोइराला) समूहले साउन २९ गतेदेखि काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेला तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा विमानस्थलमा देउवालाई स्वागत गर्न शीर्ष नेताहरू पुग्ने नेता मीन विश्वकर्माले जानकारी दिनु भयो ।
विश्वकर्माका अनुसार देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ। लामो समयको उपचारपछि स्वदेश फर्कन लागेका नेता देउवालाई स्वागत भव्य स्वागत गर्ने तयारी कांग्रेसको इतर समूहले गरेको हो ।
गत फागुन १३ गते नेपालबाट स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका देउवा त्यहाँको उपचार सकिएपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुग्नु भएको थियो । देउवा हङकङबाट थाइल्याण्ड पुग्ने र थाइल्याण्डबाटै नेपाल फर्कने कार्यक्रम तय भएको विश्वकर्माले जानकारी दिनु भयो । गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा आन्दोलनकारीले देउवा दम्पतीमाथि बूढानीलकण्ठस्थित निवासमा मरणासन्न हुने गरी कुटपिट गरेका थिए । त्यसपछि सैनिक अस्पताल छाउनीमा लामो उपचार गरेका देउवा दम्पती थप उपचारका लागि सिंगापुर जानू भएको थियो ।