कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाको तयारी
काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाको तयारी भएको छ ।
नेता डा. शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौती सम्बोधन गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिनु भयो ।
<span;>शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन ५ सय ५१ सदस्यीय आयोजक समितिको संयोजनमा भेला बोलाइएको स्पष्ट पार्नु भयो ।
नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भुमरीमा रुमल्लिएको उल्लेख गर्दै उहाले यसको प्रत्यक्ष असर नेपाली कांग्रेसमा परेको बताउनु भयो । २०८२ भदौ २४ गतेको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमण तथा पार्टी कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको स्मरण गर्दै उहाले त्यस्तो संकटका बेला एकताको आवश्यकता रहे पनि त्यसो हुन नसकेको बताउनु भयो ।
देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कोइरालाले पछिल्लो समय नागरिक स्वतन्त्रता र मानव अधिकार संकुचित हुँदै गएको तथा लोकतान्त्रिक संविधानमाथि प्रहार भइरहेको टिप्पणी गर्नु भयो । सुनसरीको देवानगञ्जबाट सुरु भई मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाप्रति दुःख व्यक्त गर्दै उनले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको उचित उपचारको माग गर्नु भयो ।
पार्टीका अर्का नेता डा. शेखर कोइरालाले कांग्रेसको यस अभियानमा पूर्ण समर्थन रहेको र व्यस्तताका कारण उपस्थित हुन नसके पनि ऐक्यबद्धता जनाएको जानकारी दिनु भयो। राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय शक्तिहरूबीचको सहकार्य नै आजको मुख्य आवश्यकता रहेको कोइरालाको भनाइ छ।