लूटपाट बिरुद्धको प्रहरी अपरेसन: नौ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीका अनुसार बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित द कन्सेप्ट क्लब अगाडि गत असार १६ गते गिरीराज राना (१८) र सुन्दर बगाले (२३) माथि धारिलो हतियार चक्कु तथा हेल्मेट प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका बुटवल-११ का २९ वर्षीय सुमित गुरुङलाई दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीबाट पक्राउ गरिएको हो ।
गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी यसअघि कर्तव्य ज्यान मुद्दामा आठ वर्ष कैद सजाय भुक्तान गरी २०८० साल असोजमा कारागारबाट छुटेका व्यक्ति हुन् ।
यसैबीच, भारतबाट चोरी गरिएका मोटरसाइकल नेपाल ल्याई नेपाली नम्बर प्लेट जडान गर्ने, नक्कली ब्लुबुक तयार गरी बिक्री गर्ने गिरोह सक्रिय रहेको गोप्य सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानमा खानतलासी गरेको थियो । सो क्रममा पाल्पा तानसेन नगरपालिका-८ घर भई हाल बुटवल-११ बस्ने २९ वर्षीय अशोक सारु, बुटवल-१५ का २९ वर्षीय सरोज उपाध्याय, बुटवल-१३ का ३६ वर्षीय महेन्द्र गुरुङ र बुटवल-११ का २७ वर्षीय विकास केसी पक्राउ परेका छन् ।
उनीहरूको साथबाट ६ वटा मोटरसाइकल, ३ वटा स्कुटर, एक थान ल्यापटप तथा एक थान रङ्गीन प्रिन्टर बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद उपकरण नक्कली सवारी दर्ता किताब तथा अन्य कागजात तयार गर्न प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका महेन्द्र गुरुङ यसअघि लागूऔषध मुद्दामा पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन् भने विकास केसी सार्वजनिक अपराध मुद्दामा जरिवाना तिरेर छुटेका व्यक्ति रहेको प्रहरी अभिलेखमा उल्लेख छ ।
त्यसैगरी, सुनका गरगहना चोरी प्रकरणमा पनि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चोरी भएको सुनका सिक्री र पेन्डेन्ट सम्बन्धी उजुरी तथा सीसीटीभी फुटेजको आधारमा गरिएको अनुसन्धानपछि तिलोत्तमा नगरपालिका-३ शान्तिचोकबाट घटनामा प्रयोग भएको लु ६५ प २१२१ नम्बरको मोटरसाइकल र चोरी भएका दुई थान सुनका सिक्री बरामद गरिएको हो ।
यस घटनामा भारत उत्तर प्रदेश गोरखपुरका ३२ वर्षीय राहुल जयसवाल, उत्तर प्रदेश महाराजगञ्जका २२ वर्षीय प्रिन्स जयसवाल, भारत बिहारको वाल्मीकिनगरका २८ वर्षीय नितेश कुमार गुप्ता तथा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ का ३२ वर्षीय प्रदीप कान्दु बनियाँ पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले पक्राउ परेका सबैमाथि सम्बन्धित कसुरमा थप अनुसन्धान अघि बढाइएको जानकारी दिनु भयो । साथै उहाँले चोरी, लुटपाट तथा नक्कली कागजात प्रयोग गरी हुने आपराधिक गतिविधिविरुद्ध विशेष निगरानी र अभियानलाई अझ प्रभावकारी बनाउने बताउनु भयो ।