Nepali News Portal

लुम्बिनी सिटी कलेजमा निःशुल्क आँखा परीक्षण शिविर

बुटवल । लुम्बिनी सिटी कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्य अवस्थाप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ।

कलेज परिसरमा आयोजित उक्त शिविरमा शिक्षक, कर्मचारी तथा बीएससी सीएसआईटी, बीसीए र बीआईटीएम कार्यक्रमका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययन तथा कार्य गर्ने व्यक्तिहरूमा आँखासम्बन्धी समस्या बढ्दो क्रममा रहेकाले शिविर आयोजना गरिएको कलेजले जनाएको छ।

शिविर सञ्चालनका लागि श्री कृष्णालय आई केयर, ड्राइभरटोल–११ का विशेषज्ञ चिकित्सक तथा प्राविधिक टोलीले आवश्यक उपकरणसहित सेवा प्रदान गर्नु भयो। शिविरमार्फत १०० भन्दा बढी शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो।

कार्यक्रममा अप्टो असिस्टेन्ट सन्तोष त्रिपाठीले आईटी क्षेत्रका विद्यार्थीहरूमा देखिन सक्ने आँखासम्बन्धी समस्याहरू, सावधानी अपनाउने उपाय तथा आँखाको सुरक्षाका लागि आवश्यक अभ्यासबारे जानकारी गराउनु भयो । त्यसैगरी डा. अजित यादव, डा. उमा यादव, डा. कविता यादवलगायतको टोलीले परीक्षणका क्रममा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरेको थियो।

कलेजका अध्यक्ष तथा क्याम्पस प्रमुख प्रा. डा. गणेशप्रसाद पाठकले सूचना प्रविधिको अध्ययनमा ल्यापटप, कम्प्युटर तथा मोबाइलको अत्यधिक प्रयोगका कारण आँखामा विभिन्न समस्या देखिन सक्ने भएकाले विद्यार्थीहरू सचेत हुनुपर्ने बताउनु भयो । उहाँले अन्य स्वास्थ्य सरसफाइजस्तै आँखाको स्वास्थ्यप्रति पनि विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नु भयो ।

क्याम्पस प्रमुख नारायणप्रसाद भुसालले कलेजले विद्यार्थीहरूको स्वास्थ्य, रोजगारी, स्वरोजगारी तथा उद्यमशीलता विकासका लागि विभिन्न सीपमूलक तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो। बजारको मागअनुसार आईटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी आत्मनिर्भर बन्न प्रेरित गर्ने कलेजको लक्ष्य रहेको उहाको भनाइ थियो।

बीसीए तथा बीआईटीएम कार्यक्रम संयोजक विशाल कँडेल, बीएससी सीएसआईटी कार्यक्रम संयोजक सुजन ढकाल तथा कक्षा प्रतिनिधिहरूको समन्वय र व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.