Nepali News Portal

केन्द्रीय महिला उद्यम समितिमा नयाँ नेतृत्व

‎बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको केन्द्रीय महिला उद्यम समितिको अध्यक्षमा रिता अवाल निर्विरोध निर्वाचित हुनु भएको छ ।
काठमाडौँमा सोमबार सम्पन्न समितिको २३औँ राष्ट्रिय महाधिवेशनले अवालको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शान्ति शर्मा, महासचिवमा सुलोचना श्रेष्ठ, सचिवमा दीपा शाक्य र कोषाध्यक्षमा मिना लामा निर्वाचित हुनु भएको छ ।
‎निर्वाचनपछि प्रतिबद्धता व्यक्त गर्दै  अध्यक्ष अवालले घरेलु तथा साना उद्योगी तथा महिला उद्यमीका साझा समस्या समाधानका लागि प्रभावकारी नीतिगत पहल गर्ने र उद्यममैत्री वातावरण निर्माण गर्ने बताउनु भयो ।
‎अवालले घरेलु तथा साना उद्योगीलाई वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म सङ्गठनात्मक रूपमा एकीकृत गर्दै उनीहरूको हकहित संरक्षण, उद्यम प्रवर्द्धन र नीतिगत पैरवीलाई थप प्रभावकारी बनाइने बताउनु भयो ।
‎२०७२ सालको भूकम्प, नाकाबन्दी र कोभिड–१९ महामारीका कारण घरेलु तथा साना उद्योग व्यवसाय गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै त्यसको असर अझै पूर्ण रूपमा हट्न नसकेको उहाँले बताउनु भयो ।
‎बैङ्कको उच्च ब्याजदर, करको भार तथा अन्य वित्तीय दायित्वका कारण धेरै उद्योगी अहिले पनि कठिन अवस्थामा रहेको उल्लेख गर्दै उहाले यसको प्रत्यक्ष असर उत्पादन, लगानी र रोजगारीमा परेको बताउनुभयो ।
‎ अध्यक्ष अवालले आर्थिक चुनौतीकै कारण दक्ष युवा जनशक्ति विदेश पलायन भइरहेको र यसले उद्योग क्षेत्रमा आवश्यक सीपयुक्त जनशक्तिको अभाव सिर्जना गर्नुका साथै समग्र आर्थिक गतिविधिलाई समेत सुस्त बनाएको बताउनु भयो । ( यस अघि प्रकाशित तस्बिर फरक पर्ने गएकाले सचाईएको छ ।- सम्पादक )

You might also like
Leave A Reply

Your email address will not be published.