बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि झण्डै चार अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
नगर उपप्रमुख सावित्रादेवी अर्यालले बुधबार ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २०० रुपैयाँको अनुमानित आय/व्यय प्रस्तुत गरेकी हुन् । जसमध्ये चालुतर्फ ५२ र पुँजीगततर्फ ४८ प्रतिशत रहेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा अंकमा ६३ करोडले बढी हो ।
चालु आवमा २०८२/०८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको थियो । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर’ भन्ने नारालाई आत्मसात गर्दै ल्याइएको प्रस्तावित बजेटको व्यय अनुमानअनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
त्यस्तै पूर्वाधार विकासतर्फ ५५ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ५ प्रतिशत विनियोजन गरिएको छ ।
बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट संघीय समानीकरण अनुदानबापत २९ करोड २२ लाख, ससर्त अनुदान (चालु) तर्फ ५० करोड २५ लाख, ससर्त अनुदान (पुँजीगत) तर्फ ७ करोड ४ लाख, विशेष अनुदान (पुँजीगत) तर्फ ९० लाख र समपूरक अनुदान (पुँजीगत) तर्फ २० लाख प्राप्त हुने अनुमान छ ।
You might also like