बाढीपहिरोले हुम्लामा क्षति, बिद्यालय नै बगायो
हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढीपहिरोले ठूलो क्षति पुगेको छ ।
गएराति एक्कासी असिना–पानी सहितको बाढीले डाँफे आधारभूत विद्यालय नै बगाएको छ । साथै खेतीयोग्य जग्गा र गोठहरु पनि बगाएको प्रारम्भिक जानकारी आएको चंखेली गाउँपालिका वडानम्बर ५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिनु भयो । वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यसबाट भेँडाबाख्रामा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले नेप्का गाउँ दुर्गममा भएकाले क्षतिको पूर्ण विवरण आउन नसकेको जानकारी दिनु भयो । उहाँक अनुसार आज बिहान प्रहरी टोलि घटना स्थल तर्फ प्रस्थान गरेको छ ।
हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा पर्छ चंखेली गाउँपालिका तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ छन् । नेप्का गाउँ ५ नम्बर वडामा पर्छ । यहाँ मोटरबाटो छैन । गाउँपालिकाको केन्द्रबाट पाँच घण्टा पैदल दुरीमा यो गाउँ अवस्थित छ ।