काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । विपक्षी दलको बहिस्कार, नाराबाजी र विरोधकाबिच प्रतिनिधिसभा बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।
नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा वैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट बुधबार टेबल गरेको वार्षिक नीति तथा कार्यक्रममा बिहीबार छलफलपछि अर्थमन्त्रीले नै जवाफ दिएर पारित भएको हो ।
अर्थमन्त्रीले जवाफ दिने क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदले उठेर विरोध गरेका थिए भने एमाले लगायत ४ वटा विपक्षी दलले बैठक नै बहिस्कार गरेका थिए । विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफल र उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे पनि प्रधानमन्त्री उपस्थित नै नभई कार्यक्रम पारित भएको हो ।
पारित कार्यक्रमका आधारमा सरकारले वार्षिक बजेट बनाउनेछ । नीति तथा कार्यक्रममाथि विपक्षी दलका सांसदहरूले ३५ वटा संशोधन प्रस्ताव राख्नु भएको थियो । ती सबै संशोधनकर्तालाई फिर्ता लिन सभामुखले समय दिनु भएको थियो । प्रस्ताव फिर्ता नलिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । निर्णयार्थ प्रस्तुत गर्दा ती प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।
यसअघि बिहीबारै राष्ट्रियसभाबाट पनि विपक्षीको बहिस्कारकाबिच नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।
You might also like