पत्रकार महासंघ रुपन्देहीको स्थापना दिवसमा फुटसल
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१औं स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
महासंघ रुपन्देहीले यही चैत १६ र १७ गते दोश्रो मिडिया कप फुटसल प्रतियोगिता र दोश्रो कर्पोरेट कप फुटसल प्रतियोगिताको आयोजना गरेको नेपाल पत्रकार महासङ्घ रुपन्देहीले जनाएको छ।
कार्यक्रम संयोजक सुमन श्रेष्ठले बुटवल ८ सुख्खानगर नमूनापथ स्थित एडरिक फुटसल कोर्टमा आयोजना हुने फुटसल प्रतियोगिताअन्तरगत मिडिया कप फुटसल प्रतियोगिताको पुरस्कार राशी प्रथम हुनेलाई रु. २० हजार र दोश्रो हुनेलाई १५ हजार, मेडल, कप र प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो ।
यस्तै, कर्पोरेट कप फुटसल प्रतियोगिताको बिजेताले रु. ३० हजार र दोश्रो हुनेले २० हजार तथा मेडल, कप र प्रमाण पत्र रहेको छ ।
विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र कर्पोरेट कपमा अनुशासित टीमलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
फुटसल प्रतियोगिता आयोजना गर्नका लागि महासंघले सहसचिव सुमनरश्मि श्रेष्ठको संयोजकत्वमा सदस्य दिनेश श्रेष्ठ र सदस्य अनिता चौधरी सदस्य रहेको समिति बनाएको छ । यस्तै, खेलमा निर्णायक तथा सहजीकरणका लागि खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, यमलाल भुसाल र स्वस्तिक श्रेष्ठ रहेको कार्यदल निर्माण गरिएको सचिव सीपी खनालले जानकारी दिनु भयो ।
गत वर्ष आयोजना गरिएको फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार स्थापना गरिएको र पहिलो पुरस्कार फुटसल प्रतियोगिताको समापनको अवसरमा प्रदान गरिने महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिनु भयो । यसपटक पनि फुटसल आयोजनाबाट बचत भएको रकम खेलकुद पत्रकारिता पुरस्कार कोष र सुत्केरी कोषमा जम्मा गरिने छ ।
यसअघि गतवर्ष भएको पहिलो संस्करणमा कर्पोरेट कपको उपाधि इन्जिनियर्स एशोशिएशन लुम्बिनीले जितेको थियो भने मिडिया कपको उपाधि ग्लोबल आवाजले जितेको थियो ।
You might also like