Nepali News Portal

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुग्यो

काठमाडौं । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।

नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन्।

३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ। काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन्। काभ्रे जिल्ला भरिमा ३१ जनाको ज्यान गएको छ। ललितपुरमा २३ जनाको मृत्यु भएको छ।

नदीहरूको जलस्तर खतराको स्तरमाथि

देशका विभिन्न नदीहरूमा जलस्तरखतराको तह पार गरेको छ । आइतबार साँझ ६ बजेको तथ्याङ्क अनुसार विभिन्न ६ स्थानमा नदीहरूको जलस्तर खतराको स्तरमाथि रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको बालकुमारीमा मनोहरा नदीको जलस्तर खतराको तहभन्दा माथि रहेको छ । त्यस्तै, ललितपुरको खोकनामा बागमती नदीको जलस्तरले खतराको तह पार गरेको छ । यद्यपि, त्यहाँ जलस्तर घट्ने क्रममा छ । धनकुटामा अरुण नदी र तमोर नदी, सिन्धुलीमा सुनकोशी र भोजपुरमा सुनकोशी नदीको जलस्तर खतराको तहमाथि रहेको छ । यसैगरी, मकवानपुरमा बागमती नदी र सिन्धुपाल्चोकमा सुनकोशी नदीको जलस्तर उच्च रहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.