ढाका । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । देशभरमा चर्किएको विद्यार्थी आन्दोलन र आफ्नो राजीनामाको मागबिच सोमबार प्रदर्शनकारीहरूले हसिनाको सरकारी आवासमा ढुंगामुढा गरेलगत्तै राजीनामा दिएर उनी भारतर्फ लागेकी हुन् ।
योसँगै सेनाले अन्तरिम सरकार बनाउने तयारी गरिरहेको त्यहाँको सेना प्रमुख जनरल वाकर–उज–जमानले बताएका छन् । देशबासीको नाममा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
अहिलेको अवस्थाको सारा जिम्मेवारी आफूले लिएको उनको भनाई छ । देशले निकै कष्ट भोगिसकेको, अर्थतन्त्र मारमा परेको र कयौँको ज्यान गइसकेकाले हिंसा अहिले नै रोक्नु पर्ने पनि उनले बताएका छन् ।
आफ्नो सम्बोधनपछि स्थितिमा सुधार आउँछ भन्ने आशा उनले गरेका छन् । स्थिति राम्रो भयो भने आपत्काल लगाउनु पर्ने जरुरी नहुने पनि उनले बताए ।
शेख हसिनाले राजीनामा दिइसकेको अवस्थामा शान्त भएर सेनालाई सघाउन पनि उनले विद्यार्थीहरूलाई आग्रह गरेका छन् । बंगलादेशमा भर्खरै चुनाव भएको थियो । चुनावमा व्यापक धाँधली भएको भन्दै त्यहाँका सबै विपक्षी दलहरूले सो चुनाव बहिष्कार गरेका थिए । अब यतिबेला सबैको नजर बंगलादेशको सेनामा छ ।
बंगलादेशको स्थापना भएदेखि त्यहाँ सेनाले पटकपटक ‘कू’ गरेको छ । तर, ९० को दशकदेखि त्यहाँको सत्तामा एउटै राजनीतिक दलको हातमा रहेको थियो ।