बुटवल । आवाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं निर्वाचनले बालकृष्ण पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
आज शुक्रबार बुटवलमा सम्पन्न सहकारीको सत्रौं वार्षिक साधारण सभा तथा छैठौँ निर्वाचनबाट अध्यक्षमा पाण्डे, उपाध्यक्षमा मिनराज भुसाल , सचिबमा गिता बन्जाडे, कोषाध्यक्षमा स्वराज कुमार जयसवाल निर्बिरोध निर्वाचित हुनु भएको निर्वाचन प्रमुख बाबुराम बन्जाडेले जानकारी दिनु भयो । त्यसै गरि संचालक समिती सदस्यहरुमा भेष बहादुर थापा, सन्तोष बन्जाडे, प्रेमा केसी, मधु महत्रा र हरि प्रसाद भट्टराई निर्वाचित हुनु भएको छ ।
लेखा सुपरिवेक्षण समिति संयोजकमा यदुनाथ सुबेदी, सदस्यहरुमा लक्ष्मी पोख्रेल र इन्द्र बहादुर बिक निर्वाचित हुनु भएको छ । निवर्तमान अध्यक्ष जीवन अधिकारी, निर्वाचन प्रमुख तथा पुर्ब अध्यक्ष बाबुराम बन्जाडे, सल्लाहकारहरु खुवीराम आचार्य, अच्युत पन्थ, देउ प्रकाश राईले नवनिर्वाचित संचालक समितीलाई शुभकामना दिनु हुँदै सहकारीको सिद्धान्तमा रहे सदस्यको हितमा काम गर्न सुझाव दिनु भयो । नव निर्वाचित अध्यक्ष पाण्डेले सहज र सौहार्दपूर्ण वातावरणमा संस्थाको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएकोमा शेयर सदस्य लगायत सम्पूर्णमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नु भएको छ ।
”<span;>यहाँहरूले मप्रति देखाउनुभएको विश्वास र भरोसालाई म सदैव सम्मानका साथ आत्मसात् गर्नेछु।” उहाँले भन्नु भयो-“यहाँहरूको सल्लाह, सुझाव, विचार र भावनालाई साथमा लिएर, आपसी सहकार्य र एकताका साथ संस्थालाई अझ सबल, सक्षम, पारदर्शी र विश्वासिलो संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु। आगामी दिनमा पनि यहाँहरूको निरन्तर साथ, सहयोग, सुझाव र मार्गदर्शनको अपेक्षा गर्दछु। “
यस अघि सहकारीका अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रमुखअतिथि राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक तथा जिल्ला सहकारी संघका अध्यक्ष भीमप्रसाद तुलाचन, नेफ्कुनका पुर्ब संचालक सदस्य सन्दीप सापकोटा, धनबर्षा सहकारीका अध्यक्ष राधाकृष्ण देवला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै सदस्यको आर्थिक संमृद्विको मुख्य आधार बनाई सदस्य केन्दित लगानी बढाउनु पर्नेमा जोड दिनु भयो । साधारणसभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिबेदन पारित गरेको थियो । बुटवलमा प्रधान कार्यालय रहेको उक्त सहकारीको कुल बासलात २९ करोड ५ लाख ३४ हजार ४ सय ९१ रहेको छ ।