बुटवल। विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । लुम्विनी प्रदेशका तराईका जिल्लाहरु नवलपरासी रुपन्देही कपिलवस्तु वांके र वर्दिया तथा उपयकाहरुमा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको हो ।
शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारणले दम तथा रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । उपचारका लागि स्वास्थ्य संस्था आउने सङ्ख्यामा समेत वृद्धि भएको लुम्विनी प्रादेशिक अस्पतालले जनाएको छ ।
चिकित्सकहरुकान अनुसार अत्यधिक चिसो बढेसँगै बालबालिकामा रुघाखोकी, निमोनियाजस्ता स्वास्थ्य समस्या अत्यधिक मात्रामा देखिन थालेको छ। चिसो अत्यधिक मात्रामा बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको छ । धेरैजसो विद्यालयमा जाडो बिदा दिइएको छ ।
शीतलहरसँगै चिसो हावाको कारणले जाडो अत्यधिक मात्रामा बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहल घटेको छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामीण क्षेत्रमा यातायातका साधन चलेका छैनन् । ग्रामीण भेगमा दाउरा नहुँदा स्थानीय गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् ।
बाक्लो कुहिरोका कारणले तेलहन, दलहन, आलु खेतीलगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपायाह पनि प्रभावित हुन थालेका छन् । आइतबारदेखि हुस्सु लाग्ने क्रम बढेको छ । घाम लाग्न छोडेको छ ।