बुटवल । नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको अध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन र बन्द सत्रलाई सम्वोधन गर्दै सहमति गर्न आग्रह गरेका थिए । तर अध्यक्षका आकांक्षीहरु बर्तमान अध्यक्ष राधाकृष्ण कडेल र केन्द्रिय सदस्य हरि रिजालले एक आपसमा सहमति गर्न नमाने पछि निर्वाचन हुने निश्चित भएको हो।
शनिवार देखि सूरु भएको अधिवेशनको बन्द सत्र सकिएपनि नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन हुने पक्का भएको हो । मतदान भने भोलि हुने छ ।
आज बिहान अध्यक्ष पदका आकांक्षीहरुलाई बोलाएर अध्यक्ष केपी शर्मा ओलीले सहमती गरेर अगाडी जान आग्रह गरेका थिए । ओलीले पहिलो अधिवेशन भएकोले अन्य प्रदेशका लागि समेत सन्देश दिन आग्रह गरेका थिए।
महासचिव शंकर पोखरेलले केन्द्रिय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले बर्तमान अध्यक्ष राधाकृष्ण कडेललाई समर्थन गरेका छन्। यो संगै पार्टीका केन्द्रिय पदाधिकारी र सदस्यहरु समेत दुई भागमा बिभाजित भएको देखिन्छ।
पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीसंगै केन्द्रिय सदस्यहरु चेत नारायण आचार्य भुमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा खुलेरै लागेका छन् भने सचिव छविलाल बिश्वकर्मा तथा गोकर्ण बिष्ट, पोलिटब्युरो सदस्यहरु लिला गिरी,खिमलाल भटराई,दधिराम न्यौपाने लगायत कडेलको पक्षमा छन्।
मिलाउने जिम्मेवारी प्रदेश इन्चार्ज पद्मा अर्याललाई
नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याललाई जिम्मेवारी दिएर अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्केका छन् ।
‘सबै अधिकार इन्चार्ज अर्यालजीलाई दिएको छु, यहाँको सबै आधिकारिक निर्णय उहाँले सुनाउनुहुन्छ, नमाने चुनावमा जाने अधिकार सबै प्रतिनिधिलाई छ, ओलीले भने । नेताहरूलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न उनले आग्रह गरे ।
अध्यक्ष ओलीले निर्वाचन सम्पन्न गर्नका लागि सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पदमा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गरे । अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनु पर्यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’
प्रतिनिधिहरूलाई समेत इन्चार्जको निर्देशन मान्नु पर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए । अध्यक्ष ओलीले पार्टीभित्र आम रूपमा आत्मकेन्द्रीत हुने प्रवृत्ति बढेको बताउँदै राष्ट्र केन्द्रित र जनता केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे ।