Nepali News Portal

स्थानीय तहका जनप्रतिनिधिहरु अझै जवाफदेही र जनमैत्री हुनु पर्छ : सभामुख घर्ती

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तहका जनप्रतिनिधिहरु अझै जवाफदेही र जनमैत्री हुनु पर्ने सुझाव दिएका छन । स्थानीय तह जनताको घर दैलोको सरकार भएकाले जनप्रतिनिधिहरुको जिम्मेवारी बढी हुने उनको भनाइ छ । रिब्दीकोट गाउँपालिका गाउँसभाको १३ औं अधिवेशनलाई सम्बोधन गर्दै  सभामुख घर्ती मगरले जनताको काम गर्ने सवालमा कानुनी समस्या भए हल गर्न प्रदेश सभा तत्पर रहेको बताए । “कानुन तथा नीतिनिर्मातामा समस्या भए भन्नू पर्‍यो । कानुनको अभाव देखाएर जनताको न्यायोचित काम नगर्ने छुट कसैलाई छैन ।” सभामुख घर्ती मगरले भने -“जनप्रतिनिधिहरुलाइ कानुनी शिक्षा दिन र कार्यान्वयनमा आएका एेन कानुनको जटिलताको हल गर्न प्रदेश सभा सधै तत्पर छ । ” उनले शासन प्रणालीलाई दोष दिएर कोही पनि उम्किन नहुने बताए । देश समृद्ध बनाउन राज्य संचालन गर्ने शासकहरुमा इमान्दारिता हुन जरुरी रहेको उनको भनाई छ ।

उनले स्थानीय तह र प्रदेश सभालाइ कार्यक्रम मार्फत जोडने प्रयास सुरु गरिएको जानकारी समेत दिए । लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ वटा पालिकामा प्रदेश सभा प्रत्येक रुपमा जोडिने उनले बताए ।
पालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण जी. सी. समाजसेबी गोपाल पोखरेल ,उपाध्यक्ष कान्ता अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उत्कृष्ट कार्यगर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.