कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत अवस्थामा भेटिनु भएको छ ।
शुक्रबारदेखि सम्पर्कविहीन ६५ वर्षीय सिंहको शव आइतबार जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार सिंहले प्रयोग गर्ने मोटरसाइकल पनि जंगलमै भेटिएको थियो । कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले सिंहको खोजी गर्ने क्रममा जंगलको बीच भागमा शव भेटिएको जानकारी दिनु भयो ।
सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट निस्किएका निस्किनु भएको थियो । त्यसको करिब डेढ घण्टापछि साढे ३ बजेतिर उहाँले आफू निकटका केही व्यक्तिलाई फोन गरी ‘जंगलमा बाटो बिर्सिएँ’ भन्नु भएको थियो ।
त्यसपछि आफन्तसहितको टोली खोजीमा निस्किएको थियो । खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उहाँले प्रयोग गर्ने लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।
शुक्रबारदेखि प्रहरी, स्थानीय र आफन्तले निरन्तर खोजी गरिरहेका थिए । सिंह आफ्नो समूहले सञ्चालन गर्ने कृषि फार्मतर्फ जाने क्रममा जंगलमा हराएको स्थानीयले बताएका छन् । छोटो बाटो हुने भन्दै जंगलको बाटो प्रयोग गर्दा हराएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।