बुटवल । लुम्बिनी सिटी कलेजमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा राष्ट्रिय स्तरको ह्याकाथन “लुम्बिनीएक्स” आज सनिवार देखि सुरु भएको छ । नवप्रवर्तन, प्रविधि र डिजिटल समाधान तथा विकास गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रम तीन दिन सम्म जारी रहने छ ।
कलेजका विद्यार्थी आविष्कार ढेङ्गाको अध्यक्षतामा तथा तिलोत्तमा नगरपालिकाका शिक्षा विभागका अधिकृत धनीराम शर्माको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको कार्यक्रममा कलेज सञ्चालक समितिका पदाधिकारी एवं संस्थापकज्युहरु, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, कार्यक्रम संयोजकहरू, प्राध्यापकहरू, कर्मचारीहरू तथा विद्यार्थीहरु लगायत देशभरिबाट प्रतियोगितामा सहभागी टिमहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि शर्माले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै यस्ता प्रतियोगिताबाट नवप्रवर्तनको क्षेत्रमा विकास हुने अपेक्षा व्यक्त गर्नुभयो। कार्यक्रम यसै कलेजका विद्यार्थी श्री संयम शर्माको सञ्चालन र श्री निशान भुर्तेलको स्वागत मन्तब्यबाट प्रारम्भ भएको थियो । कलेजका प्राध्यापक तथा मेन्टर श्री विष्णु प्रसाद चौधरीले कार्यक्रम बारे प्रकाश पार्नुभयो, सञ्चालक समितिका उपाध्यक्ष तथा प्यारामाउन्ट उच्च मा.वि.का संस्थापक प्राचार्य डा. दामोदर भुसालले सूचना प्रविधिको नयाँ आयामहरूमा प्रकाश पार्दै कार्यक्रमले सो क्षेत्रमा दिशानिर्देश गर्ने कुरामा जोड दिनुभयो ।
उक्त कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. गणेश प्रसाद पाठकले कलेजको समग्र परिचयका साथ यस्ता कार्यक्रमबाट सूचना प्रविधिको क्षेत्रमा विश्वस्तरीय जनशक्ति र नेतृत्व विकास गरी देशको समग्र अर्थतन्त्रमा प्रभाव राख्ने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।