Nepali News Portal

माउण्ट एभरेष्ट ब्रुअरीद्धारा श्रम शोषण

दुई वर्षदेखी कर्मचारीले तलब पाएनन

माउण्ट एभरेष्ट ब्रुअरीद्धारा श्रम शोषण
दुई वर्षदेखी कर्मचारीले तलब पाएनन
बुटवल । गोल्डेन टाईगर वियर र एभरेष्ट वियरको व्राण्डमा वियर उत्पादन गर्ने माउण्ट एभरेष्ट ब्रुअरी प्रालिले कर्मचारीहरुको श्रम शोषण गरेको पाईएको छ ।
कम्पनीले २/३ वर्षदेखी पारिश्रमिक नदिएर अन्याय गरेको कर्मचारीहरुले बताएका छन । श्रम अदालतले समेत कर्मचारीहरुलाई पारिश्रमिक उपलब्ध बनाउन कम्पनीलाई आदेश गरेको छ ।
त्यस अघि रुम तथा रोजगार कार्यालय काठमाडौंले फाईनान्स कन्टोलर वरुण कृष्ण मानन्धर, सिनियर म्यानेजर सुदिप श्रीवास्तव लगायत कार्यरत कर्मचारीहरुको निवेदनको आधारमा २०८१ जेठ २८ गते पत्र लेखेर वांकी पारिश्रमिक उपलब्ध गराउन कम्पनीलाई निर्णयको जानकारी गराएको थियो । कम्पनीले श्रम ऐन २०७४ को दफा १६३ (२) बमोजिम पारिश्रमिक उपलव्ध नगराए पछि कर्मचारीहरु अदालतको ढोका ढकढकाउन पुगेका थिए । अदालतले पारिश्रमिक तथा सेवा सुविधाको रकम उपलब्ध गराई पाउं भन्ने मुद्धामा कर्मचारीको पक्षमा २०८१ असोज ८ गते फैसला गरेको थियो । तर पनि कम्पनीले अदालतको फैसलालाई कार्यान्वयनमा चासो नदिएपछि कर्मचारीहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन ।
उनिहरुले संचालकहरुको घर अगाडी धर्ना लगायतका आन्दोलन गरी पारिश्रमिक दिन दवाव दिएका हुन । कर्मचारीहरुले पारिश्रमिक दिन दवाव दिए पछि आफ्नो आन्तरिक कारण देखाई उत्पादन वन्द गरी संचालकहरु सम्पर्कमा आउन नचाहेका एकजना विक्रि प्रतिनिधि लेखमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार विक्रि प्रतिनिधि र प्रशासनको कर्मचारी गरी ७१ जनाको झण्डै २५ करोड रुपैया पारिश्रमिक तथा भक्ता सुविधा पाउन बांकी छ । आफ्नो मात्र २÷३ वर्ष देखीको पारिश्रमिक बापतको २९ लाख रुपैया प्राप्त नभएको विक्रि प्रतिनिधि श्रेष्ठले गुनासो गरेका छन । “कम्पनी राम्रोसंग चल्दा समेत कर्मचारीको सुविधा रोकेर राखिन्थ्यो ।” उनले भने– “संचालकले कम्पनी वन्द गरेर कर्मचारीले पाउनु पर्ने तलव दिनुभएको छैन अहिले त उहांहरु सम्पर्कमा आउन चाहनुहुन्न ।” कम्पनीले विगत केही वर्ष देखी नियमित तलव नदिने दिन्छु भनेर आश्वासन मात्र दिदै आएको थियो । उत्पादन नै बन्द गरेपछि कर्मचारीहरु तनावमा परेका हुन । पैसा नपाएकै कारण कतिपय मानसिक तनावका कारण विरामी भएको र कतिपयले उपचार नै नपाएर मृत्यु समेत भएका उनको भनाई छ । उनले अहिले सम्म कर्मचारीले पाउनु पर्ने सवै तलव सुविधा दिन माग गरेका छन ।
यस कम्पनीकोे फ्याक्ट्री चितवनमा रहेको छ भने कर्पाेरेट कार्यालय विनाचेम्वर प्रदर्शनी मार्गमा रहेको छ । कर्मचारीहरुले संचालक समितिका अध्यक्ष दमन बहादुर अमात्य, संचालक वियुस बहादुर अमात्य, हिरन्य बहादुर अमात्य र विनोद बहादुर अमात्यको घरमा धर्ना दिन थालेका छन । केही दिन अघि कर्मचारीहरुले संचालक विनोद बहादुर अमात्यको झम्सीखेल काठमाडौं स्थित घरमा धर्ना दिएका थिए ।
कम्पनीले कर्पाेरेट कार्यालयका कर्मचारी, फ्याक्ट्रीका मजदुर कर्मचारीलाई मात्र होईन राजश्व, विद्युत विल, डिलरको रकम आदी पनि नतिरेको श्रोतको भनाई छ । काठमाडांैका विक्रि प्रतिनिधि विनोद थापाले कर्मचारीको सेवा सुविधा कुनै पनि हालतमा भूक्तानी गर्न माग गरे । “हामी चरणवद्ध आन्दोलनमा छौं । अदालतले गरेको फैसला कार्यान्वनमा कुनै चासो समेत छैन । उनले भने– “मेहनतको पसिना कसैले खाईदिन मिल्दैन हामीलाई रोकिएको तलव दिनु पर्छ ।” संचयकोषमा जम्मा गरिदिनु पर्ने रकम समेत जम्मा नगरि दिएर कम्पनी हिनामिना गरिदिएको कर्मचारीहरुले बताएका छन ।
चितवन स्थित फ्याक्ट्रीका मजदुर कर्मचारी पनि तालावन्दी गरेर आन्दोलनमा उत्रिएका छन । यस विषयमा संचालकहरुसंग प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । -बुटवल टुडे

You might also like
Leave A Reply

Your email address will not be published.