तिनाउ कृषि उपज केन्द्र ः न चिस्यान केन्द्र जस्तो न विक्रि केन्द्र
रुद्रहरि कुंवर
बुटवल । एउटा कुनामा दुई बोरा गुम्सिएको अवस्थामा फर्सिको साग छ । काक्रो प्लाष्टीक मै कुहिएको अवस्थामा छ । भण्टा, घिरौला, वोडी यत्रतत्र छन । केराको अवस्था उस्तै । कृषकले उत्पादन गरेका कृषि उपजहरु यत्रतत्र छरिएको अवस्थामा छन । तरकारी राख्नको लागी फलामको ¥याक छ । तर त्यो प्रयोगमा छैन । कुनामा राखिएको एसीले मुस्किलले कर्मचारीलाई चिसो फ्याकेको छ । चर्काे घाममा कपडा हम्कीदै तरकारी विक्रि गर्न आएका कृषकहरु कहिले भित्र कहिले बाहिर गरेको देखिन्छन ।
बुटवल उपमहानगर पालिका वडा नं ५ हाटबजार छेउमा एउटा चिस्यान केन्द्र छ– तिनाउ कृषि उपज संकलन तथा विक्रि केन्द्र । त्यही केन्द्रले संचालन गरेको चिस्यान केन्द्रको अवस्था हो यो । यो चिस्यान केन्द्रमा पाल्पा तिनाउ गाउंपालिकाको लगानी छ । वि.सं. २०७९ देखि शुरु गरिएको संकलन तथा विक्रि केन्द्रमा ८ लाख लगानीमा पालिकाको सहयोगमा चिस्यान केन्द्र संचालन गरिएको केन्द्रका संचालन समितिका पदाधीकारीहरु बताउंछन । चिस्यान केन्द्रको लागी तिनाउ गाउंपालिकाले २ वटा सटरको मासिक २१ हजार रुपैया र विजुरीको खर्च वेहोदै आएको छ ।
यो चिस्यान केन्द्र न त चिस्यान केन्द्र जस्तो छ न त विक्रि केन्द्र जस्तो नै । मात्र प्रतिक्षालय जस्तो, जहां गर्मीले छटपटिएकाहरु चिसोको केही राहतको आशामा त्यहां झुम्मिरहन्छन । उमेरले ७५ वर्ष कटेका तिनाउ गांउपालिका वडा नं २ वेवरेका बेद बहादुर खड्का त्यही केन्द्रमा भेटिए । केरा र काक्रो विक्रि गर्न ल्याएका । १ दर्जनको ३ सय रुपैया उनले ग्राहकलाई भाउ बताउदै थिए । विक्रि भयो भने ठिकै हो । त्यहां राख्दा राख्दै खेर गयो भने खाली हात घर फर्कनु पर्छ । “यहां सामान राखिदिने मात्र हो विक्रिको लागी जिम्मा लिनुहुदैन ।” उनले गुनासो सुनाए– “चिस्यान केन्द्र नामको मात्र छ, विक्रि भएन भने दुई दिनमै तरकारी कुहेर जान्छ ।” केन्द्रमा ल्याएको तरकारी कति विक्रि भयो कती कुहेर नष्ट भयो भन्नेवारे कर्मचारीहरुले वेलैमा जानकारी दिदैनन । “कति विक्री भयो, कति खेर गयो , अहिले सम्म हिसाब पाएको छैन । १० क्वीन्टल काक्रो कुहेर गयो होला । खै जानकारी दिदैनन ।” केन्द्रका कर्मचारीहरुप्रति उनले रुष्ट प्रकट गरे ।
कृषि उपज विक्रि भए वापत केन्द्रलाई कृषकले ४ प्रतिशत दस्तुर तिर्नु पर्छ । उत्पादनमा आधारित भएर गाउंपालिकाले कृषकले ५ प्रतिशत अनुदान दिने गरेको छ । विक्रिको आधारमा पालिकाले अनुदान दिने र केन्द्रले दस्तुर लिने गरेको व्यवस्थापक यमी उचैले जानकारी दिईन ।
बजार प्रवद्र्धनको लागी केन्द्रले पहल नगर्दा कृषकले उत्पादन गरेको कृषि उपजहरु विक्रि भन्दा वढी नष्ट भएर जाने गरेको कृषकहरुले गुनासो गरेका छन । चिस्यान केन्द्रमा तरकारी भन्दा वढी दुध तथा दुधजन्य पदार्थलाई प्राथमिकता दिईएको छ । त्यहां डुम्रे दुग्घ सहकारी संस्थाले उत्पादन गरेको दुध, घिउ, अन्य दुग्धजन्य पदार्थ राखिएको छ । तरकारीलाई स्थान दिनु पर्नेमा सहकारीलाई स्थान दिएको भन्दै तिनाउ गाउंपालिकाका कृषकहरुले असन्तुष्टी पोखेका छन ।
तिनाउ कृषि उपज संकलन तथा विक्रि केन्द्रका अध्यक्ष टेम बहादुर बगालेले चिस्यान केन्द्रको प्राविधिक ज्ञानको अभावमा केही समस्या आएको स्वीकार गरे । उनका अनुसार साग लगायत अन्य कृषी उपजलाई टिकाउन नसकिएको कारण दुग्धजन्य पदार्थलाई विक्रि वितरण गरिएको उनको भनाई छ । “प्राविधिक ज्ञानको कमी भयो । चिस्यान केन्द्रमा साग राख्न सकिएन त्यही भएर कृषकलाई नै सहयोग पुगोस भनेर सहकारीको दुग्धजन्य पदार्थ विक्रिको लागी राखिएको हो ।” उनले भने– “चिस्यान केन्द्रलाई सुधार गर्न लागेका छौं प्राविधिक कुरा भएकाले अलि व्यवस्थापनमा चुनौती छ । ”
उनले कृषकको चौमासिक भुक्तानीको लागी प्रयास गरिएको बताउदै उत्पादनमा आधारित अनुदानसंग जोडेर लैजादा विलम्व भएको बताए । उनले कृषकले चाहेको बेलामा सफ्टवेयरमा तथ्याङक हेर्न सकिने बताए । तिनाउ गांउपालिका तरकारी उत्पादनको पकेट एरिया नै हो । यहांको झण्डै ५ सय कृषक व्यवसायीक तरकारी खेतीमा आवद्ध छन । उत्पादन र बजारको सन्तुलन मिलाउन नसकिदा कृषि उपज संकलन तथा केन्द्रले वजार प्रवद्र्धन गर्न नसकेको स्वीकार गरेको छ । अध्यक्ष वगालेले कृषकले बजारको अवस्था हेरेर उत्पादन गर्ने र नियमितता दिन जरुरी रहेको बताए ।