Nepali News Portal

पाणिनी कलेजद्वारा अभिमुखीकरण

बुटवल । पाणिनी कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि  स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
तिलोत्तमा–१३ मा अवस्थित टाइगर प्यालेस बाइ सोल्टीमा एक भब्य कार्यक्रम गरि स्वागत गरेको हो ।
‎कार्यक्रममा पाणिनी कलेजका बुटवल, पाल्पा र देवदह केन्द्रबाट गरी कुल ८५ जना विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई आतिथ्य सत्कार क्षेत्रका सम्भावना, व्यावसायिक विकास, आत्मविश्वास तथा भविष्यका अवसरबारे विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वहरूले प्रेरणादायी जानकारी प्रदान गरेका थिए।
‎‎कार्यक्रमको अध्यक्षता कलेजका शैक्षिक कार्यक्रम प्रमुख जनकराज भुसालले गर्नुभएको थियो  । उहाँले डिप्लोमा  कार्यक्रमको बिशेषता र १ बर्ष सम्म गर्नुपर्ने कार्यक्रमहरूको बारेमा प्रष्ट पार्नुभयो ।
‎‎प्रमुख अतिथि इला होटल्स एन्ड रिसोर्ट्स कार्यकारी अधिकृत लक्ष्मण थापाले आतिथ्य क्षेत्रमा सफल हुन आवश्यक आत्मविश्वास, आत्मविश्वासमाथिको विश्वास, सकारात्मक सोच र निरन्तर सिकाइका विषयमा विद्यार्थीहरूलाई मार्गदर्शन गर्नुभयो। उहाँले आफ्नो व्यावसायिक यात्राका विभिन्न अनुभवहरू समेत साझा गर्दै ती अनुभवबाट सिकेका महत्वपूर्ण पाठहरू प्रस्तुत गर्नुभयो। उहाँको अनुभव र सुझावले आगामी पुस्ताका आतिथ्य व्यवसायी तथा पेशाकर्मीहरूलाई आफ्नो करियरप्रति स्पष्ट दृष्टिकोण बनाउन प्रेरित गरेको थियो।
‎‎त्यसैगरी, कार्यक्रमका विशेष अतिथि लुम्बिनी बौद्ध विश्वविद्यालयका विश्वविद्यालय व्यवस्थापन विभागका विभागीय प्रमुख डा. श्रीप्रसाद भट्टराईले प्रकारको कार्यक्रमलाई कसरी हेरेको छ भन्ने विषयमा आफ्ना धारणा राख्दै विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक विकासमा विश्वविद्यालयको आगामी सहयोग र भूमिकाबारे जानकारी दिनुभयो। उहाँले आतिथ्य क्षेत्रसँग सम्बन्धित केही महत्वपूर्ण तथा व्यवहारिक ज्ञानसमेत विद्यार्थीहरूसँग साझा गर्नुभयो।
‎कार्यक्रमका अर्का विशेष अतिथि  फ्रान्स–नेपाल मैत्री सम्बन्धका अध्यक्ष विनोद प्याकुरेलले नेपाल र फ्रान्सबीच आतिथ्य तथा ग्यास्ट्रोनोमी क्षेत्रमा दीर्घकालीन सम्बन्ध विकास गर्न सकिने सम्भावनाबारे प्रकाश पार्नुभयो। उहाँले फ्रान्सेली ग्यास्ट्रोनोमीलाई नेपालमा प्रवर्द्धन गर्न सकिने सम्भावना, विद्यार्थी तथा संस्थाबीच सहकार्यका अवसर र आगामी दिनमा नेपाल–फ्रान्सबीच आतिथ्य शिक्षासम्बन्धी सम्बन्धलाई थप विस्तार गर्न सकिने विषयमा आफ्ना विचार राख्नुभयो। कार्यक्रममा फ्रान्सबाट आएका अन्य विशेष अतिथिहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य पाणिनी कलेज तानसेनका निर्देशक मुक्ति न्यैापानेले गर्नु भएको थियो भने संचालन पाणिनी कलेजका निर्देशक देवराज शर्माले गर्नुभएको थियो । विद्यार्थीहरूलाई कक्षाकोठाको ज्ञानसँगै व्यावसायिक आतिथ्य क्षेत्रको वास्तविकता, करियरका सम्भावना, अन्तर्राष्ट्रिय अवसर तथा आवश्यक व्यावसायिक सीपबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गरेको थियो।
पाणिनी कलेजले आतिथ्य शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई उद्योग क्षेत्रका अनुभवी तथा प्रतिष्ठित व्यक्तित्वहरूसँग प्रत्यक्ष संवाद गराउँदै उनीहरूको ज्ञान, सीप, आत्मविश्वास र व्यावसायिक सोच विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.