राप्ती उपत्यका देउखुरी । नेपाली कम्युनिष्ट पार्टी र एमाले बीच तीन बुदे सहमति पछी लुम्बिनी प्रदेशमा सत्ताबाट बाहिरिने तयारी गरेको नेपाली कांग्रेसका मन्त्रीको राजीनामा रोकेर राखिएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले तत्काल राजीनामा नबुझाउन आग्रह गरेपछि मन्त्रीहरूले राजीनामा ‘होल्ड’मा राखेको बताइएको छ ।
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूमा खानेपानी तथा शहरी विकास मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार हुनुहुन्छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफूहरू छलफलमै रहेकाले राजीनामा नबुझाएको बताउनु भयो ।
नेकपा र एमालेबीच प्रदेश सरकारको भागबण्डामा लुम्बिनीको नेतृत्व एमालेलाई परेको छ । अहिले एमालेकै मुख्यमन्त्री चेतनारायण आचार्य हुनुहुन्छ ।
एमालेभित्र पनि आचार्यलाई नै निरन्तरता दिने कि नयाँ पात्र मुख्यमन्त्री बन्ने भन्ने प्रतिस्पर्धा चलेको छ । अहिले एमालेबाट मुख्यमन्त्रीमा भूमिश्वर ढकाल दावेदारी हुनुहुन्छ । मुख्यमन्त्री लीला गिरी पनि सर्वसम्मत सरकारको नेतृत्व गर्न पार्टीले अगाडि सारेमा तयार देखिनुहुन्छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद कायम छन् । यहाँ एमाले सबैभन्दा ठूलो दल हो । एमालेका २९, कांग्रेसका २७, नेकपाका १३ (सभामुखसहित), जसपा नेपालका ३, राप्रपाका ४, जनमत पार्टीका ३, लोसपाका दुई तथा जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक/एक सांसद छन् ।
लुम्बिनीमा एमाले र नेकपाका सांसद मात्रै ४० सदस्य पुग्ने भएकाले सरकार गठनका लागि आवश्यक ४२ मत पुर्याउन उनीहरूलाई अन्य दलको समर्थन आवश्यक पर्ने भएको छ ।