Nepali News Portal

माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु, सात यात्रु घाइते

बुटवल  । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । दुर्घटनामा सात जना यात्रु घाइते भएका छन्।
भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बुटवल उपमहानगरपालिका–३ निवासी ३० वर्षीय सहचालक सन्दीप बराल गम्भीर घाईते भई उपचारको क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिद्धार्थनगर–८ की ५० वर्षीया कृष्णकुमारी बेलबासे, सोही स्थानकी ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तुको शिवराज नगरपालिका–२ निवासी १९ वर्षीय प्रकाश गाहा, पाल्पाको रिब्दीकोट गाउँपालिका–६ निवासी ३८ वर्षीय सुनिल थापा, सिद्धार्थनगर–३ निवासी २६ वर्षीय कुलदीप गुप्ता, रुपन्देहीको मर्चवारी गाउँपालिका–७ निवासी ५५ वर्षीया शाहाबुन निसा तथा नवलपरासीको सुनवल नगरपालिका–६ निवासी ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन्।
घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि सिटी अस्पताल, भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल, मणिग्राम रिफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार भएका माइक्रोबस चालक तिलोत्तमा नगरपालिका–६ गणेशपुर निवासी ४६ वर्षीय छबिलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.