Nepali News Portal

नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ ।
नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाडामा भएको वार्तापछि १० बुँदे सहमति गर्दै दुई पार्टी एकीकृत भएका हुन् ।
एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिह्न तारा रहनेछ । सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।एकीकरणपछि दुवै पार्टीका तिनै तहका जनप्रतिनिधि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनेछन् ।

 

नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको
सहमति-पत्र
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त, सहअस्तित्वपूर्ण, समावेशी, धर्मनिरपेक्ष, समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । विविधतामा एकता नेपालीको राष्ट्रिय विशेषता हो । नेपालीको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा इतिहासका विभिन्न कालखण्डमा भएको जनआन्दोलन, जनयुद्ध तथा आन्दोलन, मधेस विद्रोहलगायतका विभिन्न समुदायले गरेको आन्दोलनको उपलब्धिहरूको रक्षा तथा जेनजीले पनि नमान्नबाट भएको नवयुवा र युवा आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिलाई ध्यान दिई थप उपलब्धि प्राप्तिका लागि सङ्घर्ष अग्रगामी परिवर्तनका पक्षधर सम्पूर्ण राजनीतिक पार्टी, शक्ति र व्यक्तिहरू एकताबद्ध हुन आवश्यक छ । यस उद्देश्य प्राप्तिका लागि नेपाली कम्युनिस्ट तथा समाजवादी आन्दोलनका विभिन्न धारहरू एकताबद्ध गर्दै नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण गर्ने निम्नानुसारको सहमति भएको छ :

१. विगतमा पार्टी र राज्यका विभिन्न निकायहरूमा जिम्मेवारी वहन गर्दा भए गरेका सकारात्मक र दुर्बल पक्षहरूको वस्तुनिष्ठ समीक्षा गर्दै कमी कमजोरीहरू सच्चाउने र सङ्घीयता, सुशासन, समृद्धि र सामाजिक न्यायको मापदण्ड समाजवादको दिशामा अगाडि बढ्ने ।

२. मुलुकको सार्वभौमिकता, स्वाधीनता र भूअखण्डताको रक्षा गर्दै परिवर्तन र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र प्राप्तिको रणनीतिक लक्ष्य प्राप्तिका लागि सडक, सदन र सरकार तीनवटै क्षेत्रबाट सङ्घर्ष गर्ने ।

३. समाजवादका लागि नेपालीको मौलिक बाटोको रूपमा संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य मान्यता, वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य तथा समतामूलक, न्यायपूर्ण र विभेदरहित समाज निर्माण गर्ने कामको पहलकदमी र नेतृत्व गर्दै नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रमको रूपमा अङ्गीकार गर्ने र त्यसको आधारमा देशको सामाजिक–आर्थिक रूपान्तरणका लागि कटिबद्ध रहने ।
४. पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व तथा सहभागितालाई आत्मसात गर्दै जनवादी केन्द्रीयताको सङ्गठनात्मक पद्धतिअनुरूप सञ्चालन गर्ने ।
५. नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणपश्चात् पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह तारा रहने छ । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जन प्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुनेछन् ।
६. नागरिक उन्मुक्ति पार्टीको सङ्गठनात्मक संरचनामा रहेका केन्द्रीय समितिलगायत सबैका सम्पूर्ण समितिहरू र जनवर्गीय सङ्गठनहरू आपसी सहमतिका आधारमा नेपाली कम्युनिस्ट पार्टीमा समायोजन गर्ने ।
७. नेपालको वर्तमान संविधानको सकारात्मक पक्षहरूको रक्षा र सुदृढीकरण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचनाको सवलिकरणलगायतका विषयमा नवयुवा पुस्ताको समेत भावनाको आधारमा राष्ट्रको सर्वोपरि हितमा संविधान संशोधन र अग्रगामी परिमार्जन गर्न पहल गर्ने ।
८. राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकरूपले बहिष्करणमा परेका वा पछाडिएका महिला, थारू, मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्न वर्ग पिछडिएका क्षेत्रगायतका सीमान्तीकृत वर्ग र समुदायहरूलाई राज्यका सबै अङ्गमा, तह र निकायमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने ।
९. देशका श्रमिक वर्ग र उत्पीडित समुदायहरूको एकतामा जोड दिई समाजवादी क्रान्तिका लागि राष्ट्रिय शक्ति निर्माणका लागि पहल गर्ने ।
१०. टिकापुर घटनाका सम्बन्धमा कुनैपनि व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका भ्रष्ट मुद्दाको खारेजी र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने ।
उपर्युक्त नीति, सिद्धान्त र विचारमा सहमत सम्पूर्ण राजनीतिक पार्टी, शक्ति र व्यक्तिहरू नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध हुन हामी हार्दिक अनुरोध गर्दछौं ।
मिति २०८२ पुस १४

रञ्जिता श्रेष्ठ
अध्यक्ष, नागरिक उन्मुक्ति पार्टी

माधव कुमार नेपाल
सहसंयोजक

पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक

You might also like
Leave A Reply

Your email address will not be published.