अघिल्लो सम्झौता सकिएको ५ बर्ष पूरा भएको अवस्थामा बोलपत्रको प्रक्रिया अघि नबढाइदा बुटवल उपमहानगर पालिका र समितिलाई प्राप्त हुन आउने मासिक भाडा बापतको करिब ३० लाख नोक्सान
रुद्रहरी कुँवर
बुटवल । बुटवलमा अवस्थित कृषि उपज थोक बजार केन्दको ब्यवसायीक सटरहरु बहालमा लगाउन कृषक तथा ब्यवसायीहरुले माग गरेका छ्न । बुटवल कृषि बजार ब्यवस्थापन समितीले ६८ वटा सटर भाडामा लगाउनको लागी भदौ २४ गते शिलबन्दी बोलपत्र आव्हान गरेको थियो । सूचना बमोजिम २७६ वटा बोलपत्र दर्ता भएका थियो । २०७७ सालमा नै यस अघिको सम्झौता समाप्त भएपनि अहिले सम्म बोलपत्र नखोलेकोमा कृषक तथा ब्यवसायीहरु रुष्ट भएका हुन । उहाँहरुले आज बुटवलमा पत्रकार सम्मेलन नै गरि आर्थिक चलखेलका कारण आब्हान गरिएको बोलपत्रको प्रक्रिया अघि नबढेको बताउनु भएको हो ।” २०६७ मा १० बर्षको लागि लगाईएको सटर बहाल सम्झौता सकिएको यति धेरै बर्ष भयो , आबहान गरिएको गोप्य बोलपत्र खोल्न किन आनकानी भएको छ ।” बोलपत्र पेश गरेका ब्यवसायी ऋषव पोखरेल भन्नुहुन्छ – सुरु देखी सटर भाडामा लिएका ब्यावसायीको प्रभावमा बिलम्ब गरिएको छ । त्यहाँ आर्थिक चलखेल छ ।” उहाँका अनुसार २०६७ सालमा १० बर्षका लागि सम्झौता गरि भाडामा ल्याएका ब्यवसायीहरुले बिबाद सिर्जना गरि यसलाई लम्बाउन चाहन्छन । ताकी उनीहरुको दबदबा कायमै रहन सकोस् ।
हाल जिल्ला अदालतमा केही व्यवसायीहरुले आफुहरु बाहलमा बस्न पाउनुपर्ने, संस्थापक सदस्यको रुपमा निश्चित सटर छुटएर मात्रै टेन्डर गर्नुपर्ने भन्दै गत साउन ७ गते मुद्दा दर्ता गरेका थिए । जिल्ला अदालतबाट संस्थापक सदस्यहरुको कोटा निर्धारण गरी पुनः टेन्डर गर्नको लागि आदेश दिइएको छ । यो विषयमा अन्तरिम आदेशको मागसहित जिल्ला अदालत भन्दा पहिला नै केही व्यवसायीहरूले सर्वोच्चमा समेत रिट हालेका थिए । तर सर्बोच्चले रिट खारेज गरिदिएको थियो ।
अदालत सम्म मुद्दा मामिला समेत भएको यो घटनालाई सुल्झाउन र प्रक्रियालाई अघि बढाउने समितिले चासो नदेखाएको उहाँहरुको आरोप छ । बोलपत्रको प्रक्रिया अघि नबढाइदा बुटवल उपमहानगर पालिका र समितिलाई प्राप्त हुन आउने मासिक भा डा बापतको करिब ३० लाख नोक्सान भएकाले पनि प्रक्रियालाई छिटो अगाडी बढाउन जरुरी रहेको बोध राज भण्डारी बताउनुहुन्छ । “केहि ब्यक्तिले अनुचित लाभ लिने कार्यलाई रोक्न बोल पत्र खोल्न माग गरेका छौं ।” उहाँले भन्नुभयो – “यो प्रक्रियालाई अघि नबढाए हामी आन्दोलनमा जान्छौं, कानुनी उपचार खोज्न बाध्य हुन्छौं ।”
रामु पौडेल, मुक्ति भण्डारी , कपिल पोखरेल, धन बहादुर थापा , युबराज सापकोटा, शिव आचार्य, टीकाराम सापकोटा , सुन्दर श्रेष्ठ ,माधव पन्थ लगायतले लामो समय गोप्री शिलबन्दि बोलपत्र नखुल्दा धरौटी बापतको रकम डमपिङ हुदा मर्कामा परेको बताउनु भयो । उहाँहरुले रितपुर्बक दर्ता भएका बोलपत्र अभिलम्ब खोल्न माग गर्नुहुँदै त्यसो नभए आन्दोलनमा जाने चेतावनी दिनु भयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभाग, बुटवल उपमहानगरपालिका र पब्लिकको लगानीमा थ्रीपि मोडलमा यो कृषि उपज थोक बजार केन्द्र संचालनमा आएको हो ।