बुटवल । बुटवलमा रहेको एतिहासिक जितगढी किल्लामा प्रथम मगर साहित्य महोत्सव आजदेखी सुरु भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा प्रथम मगर साहित्य महोत्सव सुरु भएको हो ।
महोत्सवको प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा राना मगरले एक समारोहका बीच उद्घाटन गर्नु भयो । सो अवसरमा बोल्दै उपसभामुख रानाले मगरहरुको सबैभन्दा ठूलो इमानदारीता भएको सोझोपन र बहादुरी भएको बताउनु भयो । साथै उपसभामुख रानाले मगरहरुले देशलाई अहिलेको अवस्थामा ल्याउनका लागि महत्वपूर्ण योगदान दिएको बताउनु भयो ।
बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलले सबै समुदायलाई समान रुपमा व्यवहार गर्ने गरेको बताउनु भयो। उहाँले बुटवल उपमहानगरपालिकाले मगर भाषाको नागरिक वडापत्र ल्याएको समेत बताउनु भयो ।
२ दिनसम्म चल्ने महोत्सवमा विभिन्न ७ वटा प्यानल डिस्कशन, मगर कविता बाचन प्रतियोगिता तथा श्रष्टाहरुलाई सम्मान लगायतका कार्यक्रम हुने छन् । महोत्सवमा प्यानल डिस्कशनका लागि अभियन्ता तथा नेपाली वैज्ञानिक महाविर पुन मगर, चर्चित नायिका मिरुना मगर, वरिष्ठ पत्रकार जेबी पुन मगर लगायत प्रतिष्ठित व्यक्तिहरुसँग प्यानल डिस्कशन गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै महोत्सवमा समाजशास्त्री तथा अध्ययता सुरेश ढकालको प्रस्तुती रहने प्रचार प्रसार समितिका संयोजक यम रानाले जानकारी दिनु भयो । ढकालले तयार पारेको मगर जातीको ‘भेजा’ प्रणाली सम्बन्धि डकुमेन्ट्री प्रदर्शन तथा यस बारेमा छलफल गरिने छ ।
मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिने भएको छ
।