बुटवल । जनताको सार्वभौम संस्था संविधान सभा मार्फत संविधान निर्माण गरी जारी भएको आज ११ वर्ष पुरा भएको छ ।
संविधान दिवस -२०८३ को अवसरमा आज राष्ट्रपति राम चन्द्र पौडेल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेत नारायण आचार्य , सभामुख तुलाराम घर्ती मगर लगायत बिशिस्ट ब्यक्तित्वहरुले शुभकामना सन्देश जारी गर्नु भई संविधानको मर्म र भावना आत्मसात गरि अघि बढ्नु पर्नेमा जोड दिनु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता रहेको जनाउनु भएको छ ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट सुदृढ, सभ्य र जवाफदेही प्रशासन निर्माण गर्नुपर्ने उहाँले उल्लेख गर्नु भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको विषम परिस्थितिको निकास संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक विधि, संवाद र सहकार्यबाट खोजिनुपर्ने बताउनु भएको छ ।
उहाँले संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको व्यवहारिक कार्यान्वयन र संवैधानिक व्यवस्थाको प्रभावकारी सञ्चालन आजको आवश्यकता रहेको बताउनुभएको हो ।
त्यसै गरि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधान र संघीयता कार्यान्वयनमा जिम्मेवार बन्न सबैलाई आग्रह गर्नु भएको छ ।
उहाँले संविधानको भावना तथा जनताको चाहना अनुसार नै संविधान र संघीयता कार्यान्वयनमा सबै गम्भिर र जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनु भएको हो ।
संविधानको रक्षा र कार्यान्वयनमा राज्य संरचना मात्र होईन सम्पूर्ण नेपाली जनता एकाकार भएर लाग्न उहाँले सबैलाई अनुरोध समेत गर्नु भएको छ । संघीय शासन प्रणालीको नितान्त नयां संरचनाको रुपमा प्रदेश संरचना रहेको जनाउँदै उहाँले संविधानले परिकल्पना गरेको संघीयतालाई पूर्ण रुपमा कार्यान्वयनको लागी प्रदेशमा आवश्यक ऐन कानुन निर्माण गरी कार्यान्वयनमा आएको तर संघीय निजामती ऐन, प्रहरी ऐन लगायतका ऐन बनाउन बिलम्ब हुँदा केही असहजता भएको उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ । संघीय निजामती ऐन, प्रहरी ऐन लगायतका ऐन बनाउन बिलम्ब हुँदा केही असहजता भएको परिस्थितिमा संविधान दिवसले संघीयता इमान्दारीका साथ पूर्णरुपमा कार्यान्वयनको लागी हामी सबैलाई अभिप्रेरणा मिल्ने बिश्वास लिएको छु ।” उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ- “नेपाली जनताको ठूलो बलिदानी पछि उपलब्धीका रुपमा प्राप्त भएको संविधान र संघीयता कार्यान्वयनमा इमान्दारीता पूर्वक लागौं, संविधान दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को कार्यान्वयनमा देखिएको कमीकमजोरीलाई सच्चाएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान परिमार्जन हुंदै जाने विश्वास लिनु भएको छ ।
उहाँले संविधान जारी गरिएको यो विशेष दिनमा जनयुद्ध, जनआन्दोलन एवं क्रान्ति, जेन–जी आन्दोलन लगायत विभिन्न संघर्षमा जीवन उत्सर्ज गर्नुहुने महान् सहिदहरु प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुका साथै घाईते अपाङ्ग, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्नु भएको छ । उहाँले संविधान निर्माण प्रकृयामा महत्वपूर्ण योगदान पु¥याउनु हुने माननीय संविधान सभा सदस्य लगायत सम्पूर्णमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नु भएको छ ।