बुटवलमा पाणिनी तपोभुमी बृहत ज्ञान महोत्सव
पश्चिमा संस्कृतिको प्रभावले पूर्वीय संस्कृति ओझेलमा : सभामुख
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पश्चिमा संस्कृतिको प्रभावले पूर्वीय संस्कृति ओझेलमा परेको बताउनु भएको छ ।
पाणिनी तपोभुमी ब्यवस्थापन संरक्षण तथा सम्बर्द्धन उप समिति रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पाणिनी तपोभुमी बृहत ज्ञान महोत्सवलाई सम्बोधन गर्नु हुँदै उहाँले बिद्वान बर्ग पनि पश्चिमाहरुको प्रभावमा परेको बताउनु हुँदै पश्चिमा दवाबमा ज्ञानमा पनि परनिर्भरता बढेको बताउनु भयो । “आफ्नो ज्ञान र बुद्धि लाई बिश्वास नगरी एआई( कृत्रिम बौद्धिकता)मा भर पर्नु ज्ञानमा पर निर्भरता हो ।” उहाँले भन्नुभयो- “पूर्वीय दर्शन सन्त महात्माले मात्र जोगाईदिने हो विद्वानहरुको कुनै भुमिका हुँदैन ?”
उहाँले पूर्वीय दर्शन र बिचार भएका कतिपय विद्वानको पनि लेख्ने सोच्ने धारा पश्चिमा दर्शनमा केन्द्रित रहेको बताउनु भयो । बिश्वबिधालयको ज्ञानले मात्र मानिसको जीवन पुर्ण नहुने भएकाले दार्शनिक ज्ञान पनि लिन जरुरी रहेको बताउनु भयो । सभामुख घर्ती मगरले भाषा तथा संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्न प्रदेश सभा प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले लुम्बिनी वाङमय प्रतिष्ठान स्थापना तथा संचालन गर्ने सम्बन्धी बिधेयकले प्रदेश सभामा प्रवेश पाएको बताउनु हुँदै हिउँदे अधिबेशनमा पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
महोत्सवको शुभारम्भ गर्नुहुँदै १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले पाणिनी तपोभुमि को बिकासको लागि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले पाणिनी बिकास कोष समिती बनाएर रिसर्च को रुपमा बिकास गर्न सकिने सम्भावना रहेको बताउनु हुँदै सरकारको ध्यानाकर्षण गराउनु भयो । “लुम्बिनी बिकास कोष, पशुपति बिकास कोष जस्तै पाणिनी बिकास कोष सरकारले बनाउनु पर्छ । ” उहाँले भन्नु भयो -” संस्कृत ब्याकरण उत्पत्ति भएको ठाँउ, ऋषिमुनीको तपोभुमिलाई रिसर्च सेन्टर रुपमा बिकास गरौं ।”
कार्यक्रममा सामाजिक बिकास मन्त्री रामजी प्रसाद घिमिरेले पाणिनी तपोभुमी ऋषिमुनीहरुको भुमि मात्र नभएर देवताको पनि भुमि देवभुमी रहेको बताउनु भयो ।
पाणिनी बहुआयामिकताले महत्वपुर्ण रहेको बताउनु हुँदै मन्त्री घिमिरेले यसको बिकासको लागि प्रदेश सरकारले लगानी बढाएको बताउनु भयो । पाणिनी पर्यटकीय १ सय गन्तव्य मध्यको एक महत्त्वपूर्ण स्थल हो । महर्षि पाणिनीले ज्ञान हासिल गरेको स्थल हो ।
पाणिनी तपोभुमीका प्रमुख संरक्षक बाबा योगीराजले गुरुयोजना बनाएर यसको बिकासको लागि काम भएको बताउनु हुँदै संघ , प्रदेश र स्थानीय सरकारको समन्वयमा गुरुयोजनालाई पूर्णता दिन सकिने बताउनु भयो ।
बुटवल उप- महानगरपालिकाका उपप्रमुख साबित्रा अर्यालले पाणिनि तपोभूमि एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल भएकाले यसको बिकासमा चासो दिन जरुरी रहेको बताउनु भयो । बिश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष पुनाराम पोख्रेलको अध्यक्षता पाणिनी उधान समितीका अध्यक्ष ऋषि आजादको संचालनमा भएको महोत्सवमा प्राज्ञ तथा विद्वानहरुबाट पाणिनीको बिकासको सम्भावना समेटिएको १६ वटा कार्यपत्र प्रस्तुत गरिएको छ बुटवल उप- महानगरपालिकाको सहकार्यमा पाणिनी उधान जीतगढी, पाणिनी अनुसन्धान केन्द्र र बिश्व हिन्दु महासङ्घ रुपन्देहीको सह आयोजनामा भएको महोत्सवले पाणिनीको बिकासको लागी टेवा पुग्ने बिश्वास लिईएको छ।
महर्षि पाणिनी प्राचीन भारतका महान व्याकरणविद् तथा भाषाशास्त्री हुनुहुन्थ्यो । उहाँले संस्कृत व्याकरणलाई वैज्ञानिक र व्यवस्थित रूप दिनु भएको थियो । महर्षि पाणिनीले नेपालको लुम्बिनी प्रदेश, अर्घाखाँची जिल्लाको पाणिनि क्षेत्रमा तपस्या गरेको तथा संस्कृत व्याकरणसँग सम्बन्धित साधना गर्नु भई ज्ञान हासिल गरेको इतिहास पाईन्छ ।