बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र सरकारलाई पूर्णता दिने तयारी गर्नु भएको छ । मुख्यमन्त्री आचार्यले भदौ ४ गते प्रदेश सभामा विश्वासको मत लिनुहुने छ । जसका लागि सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेश सभाको बैठक बोलाउनु भएको छ ।
मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसबाट एक जना, साना दलहरू लोसपा, जसपा र नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा लैजाने गरी छलफल अगाडि बढाएको बताइएको छ ।
१२ मन्त्रालय रहेको लुम्बिनीमा मुख्यमन्त्री आचार्यसहित ९ सदस्यीय मन्त्रिपरिषद् छ । मुख्यमन्त्रीले अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय आफैँसँग राख्नु भएको छ ।
बाकी रहेको तीन मन्त्रालयमध्ये एउटा कांग्रेसलाई, साना दलमध्येबाट लोसपा नेपाललाई एउटा र बाँकी एक मन्त्रालयमा जसपा (अशोक राई)पक्ष र नागरिक उन्मुक्ति पार्टीमध्येबाट कुनै एक दललाई सामेल गर्ने तयारी छ ।