Nepali News Portal

एमाले चुनाव र आन्दोलनको तयारीमा, २१ बुदे संकल्प पारित

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला २१ बुँदे संकल्प र प्रस्ताव पारित गर्दै समापन भएको छ ।

‎भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीसहित आवश्यक परे आन्दोलनको तयारी गर्ने संकल्प गरेको छ ।

‎‘भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको वापसीका लागि आन्दोलनको तयारी गर्ने संकल्प गरेको छ,’ भेलापछि जारी वक्तव्यमा भनिएको छ ।

‎भेलाका लागि स्थानीय तह, जिल्ला, प्रदेशदेखि प्रवाससम्मका नेता–कार्यकर्ता काठमाडौं बोलाइएको थियो । आफ्नो दलबाट प्रतिनिधित्व गर्ने सबै तहका जनप्रतिनिधि समेत बोलाइएको भेलाको उद्देश्य निराश पार्टी पंक्तिलाई उत्साहित बनाउने र आगामी निर्वाचनहरूको तयारी थियो ।

‎भेलामा प्रस्तुत दस्तावेज र मन्तव्यमा पनि नेताहरूले पार्टी वैचारिक, संगठनात्मक र भावनात्मक रुपले एकताबद्ध बनेको दाबी गरेका छन् । भेलाको संयोजन गरेका नेता भानुभक्त ढकालका अनुसार राष्ट्रिय भेलाको उद्देश्य नै सिंगो पार्टीलाई एउटै लयमा हिडाउनु हो ।

‎भेलामा अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिको चलखेलका कारण गत निर्वाचनमा पार्टीले गम्भीर धक्का बेहोर्नु परेकाले एकताबद्ध भई जानुको विकल्प नभएको बताउनु भयो ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन नै दिनु भयो । वर्तमान सरकारले आफू सहित नेताहरूलाई गिरफतार गर्ने, संविधानमाथि आक्रमण जस्ता कार्य गर्ने खतरा रहेकाले आन्दोलनका निम्ति तयारी अवस्थामा जुट्न ओलीले निर्देशन दिनु भयो ।

वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा र विष्णप्रसाद पौडेल, महासचिव शंकर पोखरलले पनि आगामी निर्वाचनको तयारीमा जुट्न सहभागीहरूलाई आग्रह गर्नु भएको थियो ।

पूर्वराष्ट्रपति भण्डारी, उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको जोड भने निराशा त्यागेर आगामी निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई अपिल गर्नमा थियो । संसदीय मोर्चाको प्रतिवेदन प्रस्तुत गरेका उपाध्यक्ष थापाले आगामी निर्वाचनमा लोकतान्त्रिक दलहरूसँग सहकार्यको सन्देश दिनु भयो ।

‎काठमाडौंमा दुई दिन सम्म चलेको भेला समापन लगत्तै केन्द्रीय समिती बैठक बसेको थियो । बैठकले अघिल्लो केन्द्रीय कमिटीबाट पारित दुई कार्यभार र १५ काम कार्यान्वयन गर्ने , संगठनात्मक काम र कार्यविभाजन सम्बन्धी निर्णय सचिवालय र स्थायी कमिटीबाट गर्ने अनुमति दिने र केन्द्रीय कमिटी बैठक आगामी माघ अन्त्यतिर बोलाउने निर्णय  गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.